जनता टाइम्स

२६ कार्तिक २०८३, बिहिबार १२:०३

रानीकोट गढीसम्म पुग्ने सडकको मुख्यमन्त्री थापाद्वारा स्थलगत अनुगमन, दीर्घकालीन समाधानको प्रतिबद्धता


कात्तिक २६, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीकोट गढीसम्म पुग्ने सडकको आज बिहान स्थलगत अनुगमन गर्नुभएको छ ।

मुख्यमन्त्री थापाले रानीकोट गढी–घ्याम्पेडाँडा सडकखण्डमा देखिएका पहिरो, पानीको उचित निकास नहुँदा आवागमनमा हुने कठिनाइ तथा वर्षायाममा रुखहरू ढलेर सडक अवरुद्ध हुनेलगायतका समस्याबारे स्थलगत निरीक्षण गरी जानकारी लिनुभएको हो ।

अनुगमनका क्रममा उहाँले सडकको वर्तमान अवस्था, स्थानीयवासीले भोग्दै आएका समस्या तथा पर्यटकको आवागमनमा पर्ने असरबारे जानकारी लिनुभएको थियो । निरीक्षणपछि मुख्यमन्त्री थापाले सडककाे समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल र सम्बन्धित निकायबीच समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरको महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीकोट गढीसम्मको सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउनु आवश्यक छ। स्थानीयवासी तथा पर्यटकहरूको आवागमनलाई सहज बनाउँदै यस्ता समस्याहरूको दीर्घकालीन समाधानका लागि आवश्यक पहल र समन्वय गरिनेछ ।”

उहाँले रानीकोट गढीजस्तो ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको स्थलसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउनु आवश्यक रहेको उल्लेख गर्दै सडक पूर्वाधारको सुधारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।  

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ मा अवस्थित रानीकोट गढी ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थल हो । यसलाई लिच्छविकालीन गढी तथा काठमाडौँ उपत्यकाको दक्षिणपूर्वी प्रवेशद्वारको सुरक्षासँग जोडिएको स्थलका रूपमा लिइन्छ । 

पुरातत्व विभागले २०७४ साल मंसिर १० देखि १६ गतेसम्म गरेको प्रारम्भिक उत्खननका क्रममा मल्लकालीन दरबारका अवशेष तथा इँटा, झिँगटीजस्ता पुरातात्विक सामग्री फेला परेको विवरण सार्वजनिक भएको थियो ।   

त्यसैले रानीकोट गढीलाई उपत्यकाको प्राचीन बस्ती, सुरक्षा व्यवस्था र ऐतिहासिक राजनीतिक गतिविधिसँग जोडिएको महत्वपूर्ण सम्पदाका रूपमा थप अध्ययन, उत्खनन र संरक्षण गर्न आवश्यक देखिन्छ ।