काठमाडौं, कात्तिक २५। प्रधानमन्त्री बालेन्द्र साहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस्।”
उहाँले भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना पनि व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री साहले भाइटीकाको पौराणिक महत्त्व उल्लेख गर्दै कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको र यमुनाले दाजुलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गर्नुभएको धार्मिक प्रसङ्ग स्मरण गर्नुभएको छ।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले त्यस दिन बहिनीबाट टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिनुभएको विश्वास रहेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “सोही विश्वासमा आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्नुहुन्छ।”
भाइटीकाका अवसरमा दाजुभाइलाई दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने परम्परा रहेको प्रधानमन्त्री साहले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।
त्यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने चलन रहेको उहाँले स्मरण गराउनुभएको छ।
प्रधानमन्त्री साहले भाइटीकाले पारिवारिक सम्बन्धमा प्रेम, विश्वास, सद्भाव र पारस्परिक सम्मान अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै सबैमा पुनः शुभकामना व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्