गणेश बस्नेत
तिहारलाई उज्यालोको प्रतिकका रुपमा लिइन्छ । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, देउसी–भैलो, लक्ष्मीपूजा र दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको सम्झना आउँछ । नेपाली समाजमा तिहार केवल धार्मिक पर्व होइन, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीक पनि हो।
तर यही पर्वको उत्पत्ति र भाइटीकाको ऐतिहासिक पृष्ठभूमिबारे संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले प्रस्तुत गर्नुभएको एउटा व्याख्या भने निकै फरक बिचारले निकै बहशयोग्य बनाएको छ । प्राडा जगमानले भन्नुभएको छ, ‘भाइटीका सुरु हुनुअघि दाजुभाइ र दिदीबहिनीबीच यौन सम्पर्क स्थापित हुन्थ्यो, त्यसैलाई रोक्न भाइटीका सुरु भयो ।’ चक्रपथ अनलाइनमा पत्रकार बिनु पोखरेलसँगको कुराकानीमा प्राडा जगमानले यो बिचार पहिलो पटक राख्नुभएको थियो । त्यसपछि यो बिषयमा चर्चा सुरु भयो ।
उहाँका अनुसार मानव सभ्यताको प्रारम्भिक चरणमा नातागोताभित्रै यौन सम्बन्ध स्थापित हुने सामाजिक अभ्यास थियो । पछि मानिसमा नैतिक चेतना र सामाजिक नियमको विकास हुँदै जाँदा नजिकका नातेदारबीच यौन सम्बन्ध निषेध गर्ने मान्यता स्थापित भयो । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई पवित्र र मर्यादित बनाउने साँस्कृतिक प्रतीकका रूपमा भाइटीकाको विकाश भएको उहाँको व्याख्या छ ।
डा. गुरुङले यस तर्कको आधार ऋग्वेदमा उल्लेखित यम र यमीको संवादलाई हतियार बनाउनुभएको छ । उहाँले तिहारलाई सभ्य समाज निर्माण, नातासम्बन्धको मर्यादा र यौन जीवनको सामाजिक नियमनसँग जोडेर व्याख्या गर्नुभएको छ । कान्तिपुर दैनिकमा सन् २०१७ मा प्रकाशित उहाँकै लेख तथा राटोपाटी अनलाइनमा सन् २०२२ मा प्रकाशित आलेख र अन्तर्वार्तामा पनि यो दृष्टिकोण प्रस्तुत गरिएको छ ।
तर के साँच्चै दाजुभाइ र दिदीबहिनीबीच यौन सम्बन्ध हुने प्रचलन थियो ? के भाइटीका त्यस्तो सम्बन्ध रोक्नकै लागि सुरु भएको हो ? ऋग्वेदको यम-यमी संवादले के भन्न खोजेको छ ? यमराज र यमुनाको पौराणिक कथासँग यसको सम्बन्ध के हो ? अनि तिहारको वास्तविक ऐतिहासिक विकाश कसरी भयो ? यी प्रश्नको जवाफ खोज्न तिहारको धार्मिक, वैदिक, सामाजिक र ऐतिहासिक पाटो केलाउन आवश्यक छ ।
ऋग्वेदको यम-यमी संवाद : दाजुसँग बहिनीले गरिन विवाह प्रस्ताव
डा. जगमान गुरुङको व्याख्याको मुख्य आधार ऋग्वेदको दशम मण्डलमा रहेको दशौं अध्याय अर्थात् ऋग्वेद १०.१० हो । यस अध्यायमा यम र यमी नामका जुम्ल्याहा दाजुबहिनीबीच संवाद भएको छ । वैदिक आख्यानअनुसार यमीले दाजु यमसँग वैवाहिक सम्बन्ध स्थापित गर्न प्रस्ताव गर्छिन् ।
यमीको तर्क छ-उनीहरू मानव जातिका प्रारम्भिक सन्तान भएकाले सन्तान उत्पादन र मानव वंशको निरन्तरताका लागि उनीहरूबीच सम्बन्ध स्थापित हुनु आवश्यक छ । तर दाजु यमले बहिनीको प्रस्ताव अस्वीकार गर्छन् । दाजुबहिनीबीच यस्तो सम्बन्ध उचित नहुने भन्दै उनले यमीलाई अर्को पुरुषसँग वैवाहिक सम्बन्ध स्थापित गर्न सुझाउँछन् । यस संवादमा यमले सामाजिक मर्यादा, नाताको सीमा र नैतिक आचरणको पक्ष लिएका छन् ।
यही प्रसंगलाई व्याख्या गर्दै डा. गुरुङले भन्नुभएको छ कि प्राचीन समाजमा यौन सम्बन्धका विषयमा अहिलेको जस्तो स्पष्ट सामाजिक सीमा र निषेध विकसित भइसकेको थिएन । समयक्रममा मानिसले नातासम्बन्धको मर्यादा र यौन आचरणका नियम स्थापित गर्दै गएको उहाँको तर्क छ । उहाँको व्याख्यामा भाइटीका त्यही सामाजिक चेतना र मर्यादाको सांस्कृतिक अभिव्यक्ति हो । तर यहाँ एउटा महत्वपूर्ण कुरा बुझ्नुपर्छ । ऋग्वेदको यम-यमी संवाद धार्मिक तथा साहित्यिक आख्यान हो ।
यसमा यमीले गरेको प्रस्तावलाई सम्पूर्ण प्राचीन समाजमा दाजुभाइ र दिदीबहिनीबीच यौन सम्बन्ध सामान्य रूपमा प्रचलित थियो भन्ने प्रत्यक्ष ऐतिहासिक प्रमाण मान्न मिल्दैन । तथ्यले पनि यसलाई नै आधिकारिक हो भन्ने कहीँ कतै देखाएको मान्न सकिने आधार भेटिएको छैन । यद्यपि यस संवादले प्राचीन वैदिक साहित्यमा नाताभित्रको यौन सम्बन्ध र त्यसको नैतिक सीमाबारे बहश रहेको भने देखाउँछ ।
के प्राचीन समाजमा हाडनाता विवाहको चलन थियो ?
मानव समाजको इतिहासमा विवाह, परिवार र नातासम्बन्धका नियम एउटै स्वरूपमा विकास भएका छैनन् । विभिन्न समाज, समुदाय र ऐतिहासिक कालखण्डमा नाताभित्र विवाह गर्ने सम्बन्धमा फरक–फरक मान्यता र अभ्यास रहेका पाइन्छन् । कतिपय समाजमा काका–फुपूका सन्तानबीच विवाहलाई स्वीकार गरिएको छ । दक्षिण भारतका केही समुदायमा मामा र भाञ्जीबीच विवाह गर्ने परम्परासमेत पाइन्छ । नेपालमै पनि कतिपय समदायमा यस्तो परम्परा रहेको पाइन्छ । तर दाजुभाइ र दिदीबहिनीबीचको विवाह वा यौन सम्बन्धलाई भने धेरै समाजमा निषेध गरिएको छ ।
डा. गुरुङले आफ्नो तर्कमा नेपालकै ऐतिहासिक अभ्यासलाई पनि यस विषयसँग जोड्नुभएको छ । उहाँका अनुसार वि.सं. १८९६ मा मुख्तियार रंगलालले पश्चिम नेपालको भ्रमण गर्दा जैसी ब्राह्मण समुदायमा भाञ्जी तथा फुपूकी छोरीसँग मामाका छोराहरूको विवाह गर्ने प्रचलनविरुद्ध आदेश जारी गरेको प्रसंग भेटिन्छ ।
यसले नेपालको सामाजिक इतिहासमा विवाह र नातासम्बन्धका नियम समयक्रममा परिवर्तन हुँदै गएको संकेत गर्छ । तर मामा–भाञ्जी वा मामाका छोराछोरीबीचको विवाह र सहोदर दाजुभाइ-दिदीबहिनीबीचको सम्बन्ध फरक सामाजिक तथा जैविक श्रेणी हुन् । यी सबैलाई एउटै अर्थमा हाडनाता सम्बन्ध भनेर व्याख्या गर्नु उचित हुँदैन भन्ने तर्कमा पनि आधार देखिन्छ । इतिहासकार र मानवशास्त्रीहरूले यस्ता प्रचलनको अध्ययन गर्दा समुदाय, समय, वंश परम्परा र विवाहको सामाजिक नियमलाई अलग–अलग विश्लेषण गर्ने गर्छन् ।
एउटै होइनन् यम र यमीको कथा अनि यमराज र यमुनाको कथा
भाइटीकाको इतिहास बुझ्न अर्को महत्वपूर्ण पक्ष यम र यमी तथा यमराज र यमुनाको कथाबीचको भिन्नता हो । ऋग्वेदमा आउने यम र यमी जुम्ल्याहा दाजुबहिनी हुन् । उनीहरूको संवाद यौन सम्बन्ध र नैतिक मर्यादाको विषयसँग जोडिएको छ । तर भाइटीकाको धार्मिक तथा पौराणिक परम्परामा यमराज र उनकी बहिनी यमुनाको प्रसंग आउँछ । पौराणिक कथाअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई पटक-पटक घरमा आउन निमन्त्रणा गरेकी हुन्छिन् । मृत्युका देवता यमराज आफ्नो काममा व्यस्त भएकाले बहिनीको निमन्त्रणा स्वीकार गर्न सकेका हुँदैनन् ।
कति प्रयाश गर्दा पनि नआएका यमराज अन्ततः कात्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको घर पुग्छन् । यमुनाले दाजुलाई तेल लगाइदिएर पूजा गर्छिन्, माला र टीका लगाइदिन्छिन् तथा विभिन्न परिकार खुवाएर आतिथ्य सत्कार गर्छिन् । बहिनीको प्रेम र सत्कारबाट प्रसन्न भएका यमराजले वरदान माग्न आग्रह गर्छन् । यमुनाले प्रत्येक वर्ष यही दिन आफ्नो घरमा आउनुपर्ने र यस दिन दिदीबहिनीको हातबाट टीका लगाएर पूजा गराउने दाजुभाइको आयु, आरोग्य र समृद्धिको कामना गर्छिन् ।
यमराजले पनि बहिनी यमुनाको यो इच्छा स्वीकार गर्छन् । यही पौराणिक मान्यतासँग जोडेर कार्तिक शुक्ल द्वितीयामा भाइटीका लगाउने परम्परा स्थापित भएको धार्मिक विश्वास छ । यसरी ऋग्वेदको यम–यमी संवादले नातासम्बन्धको मर्यादा र यमराज–यमुनाको कथाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, संरक्षण र दीर्घायुको कामनालाई प्रतिनिधित्व गर्छन् ।
यी दुई कथाको विषयवस्तु फरक भए पनि यम नामको पात्रमार्फत नाताको मर्यादा र सामाजिक सम्बन्धको चर्चा हुने भएकाले डा. गुरुङले तिनलाई सांस्कृतिक व्याख्यामा जोड्नुभएको देखिन्छ । उहाँको तर्कलाई पुरै नकार्न नसकिएपनि समग्र पाटोमा थप अध्ययन जरुरी देखिन्छ ।
भाइटीकाको सुरुवात कहिले भयो ?
भाइटीका कहिलेदेखि मनाउन थालियो भन्ने विषयमा अहिलेसम्म सर्वमान्य र निश्चित ऐतिहासिक मिति उपलब्ध छैन । नेपालको धार्मिक परम्परा, लोकविश्वास र सांस्कृतिक अभ्यासमा यसको लामो इतिहास रहेको मानिन्छ । तर कुनै एक व्यक्ति, राजा वा निश्चित ऐतिहासिक घटनाबाट भाइटीका सुरु भएको प्रमाणित अभिलेख पनि अहिलेसम्म भेटिएका छैनन । भाइटीकाको मूल धार्मिक आधार यमराज र यमुनाको पौराणिक कथा नै हो ।
नेपालमा तिहारलाई यमपञ्चकका रूपमा पाँच दिन मनाइन्छ । यस अवधिमा मृत्युका देवता यमराज र उनका दूत मानिने जीवजन्तुको पूजा गर्ने परम्परा छ । नेपाल सरकारको आधिकारिक प्रकाशन ’नेपाल परिचय’ मा समेत तिहारलाई दाजुभाइ र दिदीबहिनीबीचको स्नेह तथा शुभकामनाको पर्वका रूपमा उल्लेख गरिएको छ । जसमा यमराज पाँच दिन बहिनी यमुनाको घरमा बसेको पौराणिक प्रसंगलाई तिहारको धार्मिक आधारका रूपमा प्रस्तुत गरिएको छ । त्यसैले भाइटीकाको उत्पत्तिलाई एउटा मात्र ऐतिहासिक घटनासँग जोडेर निश्चित गर्नुको सट्टा धार्मिक आख्यान, वैदिक साहित्य र नेपाली समाजको सांस्कृतिक विकाससँग जोडेर बुझ्नु उपयुक्त हुन्छ भन्ने तर्क पनि अगाडि आएको छ ।
तिहारका पाँच दिनको अर्थ : किन मनाइन्छ यमपञ्चक ?
तिहार पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको अर्थ यमराजसँग सम्बन्धित पाँच दिन भन्ने हुन्छ । हरेक दिनको आफ्नै धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ ।
पहिलो दिन : काग तिहार
तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । हिन्दु धार्मिक मान्यतामा कागलाई यमराजको सन्देशवाहकका रूपमा लिइन्छ । कागले मानिसलाई सूचना दिने, वातावरण सफा राख्न सहयोग गर्ने तथा प्रकृतिको पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि यसको सम्मान गरिएको मानिन्छ । कागलाई खाना चढाएर पूजा गर्ने परम्परा प्रकृति र जीवजन्तुप्रतिको सम्मानको प्रतीक हो ।
दोस्रो दिन : कुकुर तिहार
तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई यमराजको द्वारपाल तथा रक्षकका रूपमा धार्मिक मान्यता दिइएको छ । कुकुरलाई फूलमाला लगाउने, टीका लगाइदिने र मीठो खानेकुरा खुवाउने गरिन्छ । यसले मानिस र जनावरबीचको सम्बन्ध तथा घरपरिवार र समाजको सुरक्षामा कुकुरको योगदानलाई सम्मान गर्छ ।
तेस्रो दिन : गाई तिहार तथा लक्ष्मीपूजा
तिहारको तेस्रो दिन गाईको पूजा तथा साँझ लक्ष्मीपूजा गरिन्छ । हिन्दु धर्ममा गाईलाई लक्ष्मीको प्रतीक तथा मातृत्व र समृद्धिको स्रोत मानिन्छ । साँझ घर, पसल र कार्यालयमा दीप प्रज्वलन गरी धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरको आँगनदेखि पूजा कोठासम्म बत्ती बाल्ने, फूलमाला लगाउने र लक्ष्मीको स्वागतका लागि विशेष सजावट गर्ने परम्परा छ । यस दिनको विशेषता दीपावली अर्थात् उज्यालोको पर्व पनि हो ।
चौथो दिन : गोवर्धन पूजा, गोरु पूजा तथा म्हःपूजा
तिहारको चौथो दिन समुदायअनुसार विभिन्न पर्व मनाइन्छन् । कृषिमा गोरुको महत्वपूर्ण योगदान रहेकाले गोरुको पूजा गर्ने परम्परा छ । गोवर्धन पूजामा गोबरबाट गोवर्धन पर्वतको प्रतीक बनाएर पूजा गरिन्छ । यस्तै नेवार समुदायले यसै दिन म्हःपूजा अर्थात् आत्मपूजा मनाउँछन् । म्हःपूजाले मानिसको आफ्नै अस्तित्व, शरीर, मन र आत्माको सम्मान तथा आत्मशुद्धिको सन्देश दिन्छ ।
पाँचौँ दिन : भाइटीका
तिहारको अन्तिम दिन भाइटीका हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, मखमली तथा सयपत्री फूलको माला लगाइदिन्छन् । दाजुभाइको दीर्घायु, स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार, दक्षिणा र मायाको प्रतीकस्वरूप विभिन्न सामग्री प्रदान गर्छन् । यो दिन केवल दाजुभाइको पूजा गर्ने धार्मिक विधि मात्र नभई पारिवारिक सम्बन्ध नवीकरण गर्ने अवसर पनि हो ।
भाइटीकामा लगाइने सप्तरङ्गी टीका अहिले नेपाली समाजको विशेष पहिचान बनेको छ । रातो, सेतो, पहेँलो, हरियो, नीलो लगायतका विभिन्न रङ प्रयोग गरी टीका बनाउने चलन छ । तर सप्तरङ्गी टीका नै प्राचीनकालदेखि अपरिवर्तित रूपमा चल्दै आएको हो भन्ने निश्चित ऐतिहासिक प्रमाण भने भेटिएको छैन ।
संस्कृतिविद्हरूका अनुसार विभिन्न समुदायमा भाइटीकाको विधि र स्वरूप फरक पाइन्छ । कतिपय समुदायमा सेतो चामलको टीकामा बेसार मिसाएर टीका लगाउने चलन थियो । तमु समुदायको परम्परागत भाइटीकाबारे डा. जगमान गुरुङले पनि चामलको सेतो टीका र बेसार मिसाइएको पहेँलो टीकाको अभ्यास उल्लेख गर्नुभएको छ । समयक्रममा सप्तरङ्गी टीकाले व्यापकता पाएको देखिन्छ । टीकाका रङलाई जीवनका विविध पक्ष, शुभकामना, समृद्धि र मंगलकामनाको प्रतीकका रूपमा व्याख्या गरिन्छ ।
मखमली र सयपत्री मालाको महत्व
भाइटीकामा मखमली फूलको विशेष महत्व छ । मखमली फूल लामो समयसम्म नओइलाउने भएकाले यसलाई दाजुभाइको दीर्घायु र दिदीबहिनीको प्रेमको प्रतीक मानिन्छ । दाजुभाइलाई मखमलीको माला लगाइदिँदा सम्बन्ध पनि मखमली फूलझैँ कहिल्यै नओइलाओस् भन्ने कामना गरिएको गरिन्छ । त्यस्तै सयपत्री फूलको पहेँलो रङलाई शुभता, समृद्धि र उत्सवको प्रतीकका रूपमा लिइन्छ । फूलमाला, टीका, ओखर र विभिन्न परिकारले भाइटीकालाई विशिष्ट बनाएका छन् ।
ओखर फुटाउने परम्पराको अर्थ के हो ?
भाइटीकामा दिदीबहिनीले दाजुभाइको पूजा गरेपछि ओखर फुटाउने चलन पनि छ । विशेषगरी बाहुन–क्षेत्री समुदायमा दाजुभाइको शत्रु नाश होस्, जीवनका बाधा र संकट हटून् भन्ने कामनासहित ओखर फुटाउने परम्परा रहेको पाइन्छ ।
ओखरको कडा बोक्रालाई बाधा र अवरोधको प्रतीक तथा त्यसलाई फुटाउनुलाई संकटमाथिको विजयका रूपमा व्याख्या गरिन्छ । तर यस परम्पराको विधि र अर्थ समुदायअनुसार फरक रहेको छ ।
देउसी-भैलोको इतिहास : बलिराजाको सन्देश
तिहारको अर्को महत्वपूर्ण सांस्कृतिक पक्ष देउसी–भैलो हो । देउसी र भैलो केवल मनोरञ्जनका कार्यक्रम होइनन् । यसमा लोकसंस्कृति, सामूहिकता, कृषि जीवन, दान र सामाजिक सम्बन्धका परम्परा जोडिएका छन् । देउसी खेल्दा ’हामी त्यसै आएका होइनौँ, बलिराजाले पठाएका’ भन्ने पंक्ति गाइन्छ । सामान्य धार्मिक व्याख्यामा बलिराजालाई पुराणमा उल्लेखित राजा बलिसँग जोड्ने गरिन्छ ।
तर इतिहासकार तथा संस्कृतिविद् डा. जगमान गुरुङले देउसीमा उल्लेख हुने बलिराजालाई नेपालको ऐतिहासिक पृष्ठभूमिसँग जोडेर व्याख्या गर्नुभएको छ । उहाँका अनुसार देउसीमा गाइने बलिराजा पुराणका राजा बलि नभई पश्चिम नेपालको ऐतिहासिक राज्य परम्परासँग सम्बन्धित पात्र हुन । उहाँले जुम्लाको सिंजा क्षेत्रका राजा बलिराजासँग देउसीको परम्परालाई जोड्नुभएको छ । त्यस्तै कतिपय इतिहास अध्येताले पाल्पाको बल्ढ्याङगढी क्षेत्रका मगर राजा बलि राना मगर अर्थात् बलिहाङसँग पनि देउसी–भैलोको उत्पत्तिलाई जोड्ने गरेका छन् ।
यस विषयमा इतिहासकारहरूबीच एकमत छैन । त्यसैले देउसी–भैलोको उत्पत्तिलाई एउटै राजासँग जोडेर अन्तिम निष्कर्ष निकाल्न सकिँदैन । तर यसले तिहारको इतिहास केवल पौराणिक कथामा सीमित नभई नेपालको स्थानीय इतिहास, लोकपरम्परा र सामुदायिक संस्कृतिसँग पनि जोडिएको देखाउँछ ।
तिहार र कृषि सभ्यता : पशुपूजादेखि प्रकृतिको सम्मानसम्म
नेपाल परम्परागत रूपमा कृषि र पशुपालनमा आधारित समाज हो । खेतीपातीका लागि गोरु, दूधका लागि गाई, सुरक्षाका लागि कुकुर र वातावरणीय सन्तुलनका लागि चराचुरुङ्गीको योगदान महत्वपूर्ण रहँदै आएको छ । त्यसैले तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्परालाई कृषि तथा पशुपालन सभ्यताको सांस्कृतिक अभिव्यक्तिका रूपमा पनि बुझ्न सकिन्छ ।
इतिहासका प्राध्यापक मुकुन्दराज अर्यालले तिहारलाई कृषि चक्रसँग जोडेर व्याख्या गर्नुभएको छ । बाली भित्र्याइसकेपछि किसानसँग केही फुर्सद हुने र मौसम पनि अनुकूल हुने भएकाले यस समय पर्व मनाउने सामाजिक आधार बनेको उहाँको व्याख्या छ । यस दृष्टिकोणले तिहारलाई धार्मिक आस्थाका अतिरिक्त कृषि उत्पादन, प्रकृति र जीवजन्तुप्रतिको कृतज्ञताको पर्वका रूपमा पनि बुझ्न सकिन्छ ।
के भाइटीका नेपालकै मौलिक पर्व हो ?
भारतमा दीपावली व्यापक रूपमा मनाइन्छ । त्यहाँ पनि कात्तिक शुक्ल द्वितीयाका दिन भाइदूज, भाऊबीज, भाइफोटा र यमद्वितीया मनाउने परम्परा छ । नेपालमा भने यस दिनलाई भाइटीका भनिन्छ । भारतका विभिन्न क्षेत्रमा भाइदूज तथा भाइफोटाका रूपमा मनाइने पर्व र नेपालको भाइटीकाबीच धार्मिक तथा सांस्कृतिक समानता छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने, भोजन गराउने र दीर्घायुको कामना गर्ने परम्परा दुवैतर्फ पाइन्छ । तर नेपालमा भाइटीका पाँचदिने तिहारको अन्तिम दिनका रूपमा विशेष सांस्कृतिक महत्वका साथ स्थापित भएको छ ।
नेपालका विभिन्न समुदायले यसलाई आ–आफ्नै परम्परा र विधिअनुसार मनाउँदै आएका छन् । त्यसैले भाइटीकालाई नेपालको सांस्कृतिक पहिचानको महत्वपूर्ण अंग मान्न सकिन्छ । तर यसलाई संसारका अन्य कुनै समाजमा नभएको पूर्णतः एक्लो परम्परा भन्नु ऐतिहासिक रूपमा सही नहुन सक्छ ।
तथ्यका आधारमा तिहार केवल बत्ती बाल्ने, फूलमाला लगाउने र टीका थाप्ने पर्व होइन । यो मानव सभ्यताको विकास, पारिवारिक सम्बन्धको मर्यादा, कृषि जीवन, प्रकृतिप्रतिको सम्मान र सामाजिक आत्मीयताको लामो सांस्कृतिक यात्राको अभिव्यक्ति हो भन्ने निश्कर्ष निकाल्न सकिन्छ । डा. जगमान गुरुङको व्याख्याले तिहारको एउटा गहिरो वैचारिक पाटो उजागर गरेको छ

डा. जगमानको व्याख्याले उठाएको मूल प्रश्न
डा. जगमान गुरुङको व्याख्याको मूल सन्देश दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई यौन आकर्षणभन्दा माथि राखेर पवित्र, मर्यादित र पारिवारिक प्रेमको सम्बन्धका रूपमा स्थापित गर्नु हो । ऋग्वेदको यम–यमी संवादमा बहिनीले दाजुसँग वैवाहिक सम्बन्धको प्रस्ताव राख्नु र दाजुले त्यसलाई अस्वीकार गर्नु उहाँका लागि मानव सभ्यताको नैतिक विकासको महत्वपूर्ण उदाहरण हो । उहाँले भाइटीकालाई यही नैतिक चेतनाको सांस्कृतिक प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ ।
यद्यपि इतिहास र मानवशास्त्रको दृष्टिले भाइटीका यही उद्देश्यले सुरु भएको हो भन्ने निष्कर्षमा पुग्न पर्याप्त प्रमाण छैन । ऋग्वेदको यम-यमी संवादले प्राचीन वैदिक साहित्यमा नातासम्बन्धको मर्यादाबारे बहश रहेको देखाए पनि भाइटीकाको उत्पत्तिसँग त्यसको प्रत्यक्ष ऐतिहासिक सम्बन्ध प्रमाणित गर्दैन । त्यसैगरी यमराज र यमुनाको पौराणिक कथा भाइटीकाको धार्मिक आधार हो । यसको विकास कुन कालखण्डमा भयो भन्ने विषयमा थप शास्त्रीय, अभिलेखीय र सांस्कृतिक अनुसन्धान आवश्यक छ ।
माथि उल्लेखिम तथ्यका आधारमा तिहार केवल बत्ती बाल्ने, फूलमाला लगाउने र टीका थाप्ने पर्व होइन । यो मानव सभ्यताको विकास, पारिवारिक सम्बन्धको मर्यादा, कृषि जीवन, प्रकृतिप्रतिको सम्मान र सामाजिक आत्मीयताको लामो सांस्कृतिक यात्राको अभिव्यक्ति हो भन्ने निश्कर्ष निकाल्न सकिन्छ । डा. जगमान गुरुङको व्याख्याले तिहारको एउटा गहिरो वैचारिक पाटो उजागर गरेको छ । उहाँको तर्कसँग सबै इतिहासकार सहमत हुन आवश्यक छैन, तर ऋग्वेदको यम-यमी संवाद र भाइटीकाको सांस्कृतिक अर्थमाथि थप अध्ययन र बहशका लागि यसले महत्वपूर्ण आधार प्रस्तुत गरेको छ।
आज दिदीबहिनीले दाजुभाइलाई लगाइदिने टीका केवल एउटा धार्मिक चिह्न होइन, सम्बन्धको मर्यादा, विश्वास, माया र जिम्मेवारीको प्रतीक हो । यही मानवीय मूल्य नै भाइटीकाको सबैभन्दा महत्वपूर्ण सन्देश हो । डा. जगमानको बिचार यही अर्थमा भने प्रमाणिक तथ्य बनेर इतिहासमा सदा छाइरहने छ ।
सन्दर्भ सामग्री
कान्तिपुर : तिहार विशेष युगको प्रतीक, डा. जगमान गुरुङ -यम–यमी र भाइटीकासम्बन्धी मूल व्याख्या।
रातोपाटी : यमपञ्चक अर्थात् तिहारका पाँच दिन -तिहारको सामाजिक, ऐतिहासिक र वैदिक पक्षबारे गुरुङको विस्तृत लेख।वैज्ञानिक अनुसन्धान : ऋग्वेद १०.१० मा यमी र यमको संवाद-यम–यमी आख्यानको शैक्षिक अध्ययन।
नेपाल पर्यटन बोर्ड : तिहारको पाँचदिने सांस्कृतिक परिचय-तिहारका दिन र परम्पराको आधिकारिक परिचय।
कान्तिपुर : भाइटीकाको सांस्कृतिक सौन्दर्य-भाइटीकाको धार्मिक र सांस्कृतिक विधिबारे थप विवरण।
रिपब्लिका: यमपञ्चकको अर्थ र सांस्कृतिक पृष्ठभूमि-कृषि सभ्यता र तिहारको सम्बन्ध।
जनताटाइम्स : भाइटीकाअघि दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध कायम हुन्थ्यो-डा. जगमान गुरुङ
जनताटाइम्स : त्यसपछि भाइटीकाको प्रचलन सुरु भयो-डा. जगमान गुरुङ














प्रतिक्रिया दिनुहोस्