जनता टाइम्स

२४ कार्तिक २०८३, मंगलबार २०:५८

एनपीएलमा जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफ नजिक


काठमाडौं, कात्तिक २४ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै प्लेअफ यात्रालाई बलियो बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा समेटियो ।

जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१ रन बनाउनुभयो । जिमी निसमले २०, आदित्य महताले १० तथा राहुल यादवले ११ रन जोड्नुभयो । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरका ओपनर अनिल शाह २, ह्यारी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हरमीत सिंह ४, अभिषेक तिवारी २ र ललित राजवंशी १ रनमा आउट हुनुभयो ।

सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिनुभयो । हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाउनुभयो । उहाँले २३ बलमा २ चौका र २ छक्का प्रहार गर्नुभयो । थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन बनाउनुभयो ।

त्यस्तै आरिफ शेखले ११ तथा ओपनर सैफ अली जैब र विनोद भण्डारीले समान १० रन बनाउनुभयो । जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्नुभएको थियो । त्यसपछि भने सुदूरपश्चिमले ठूलो साझेदारी गर्न नसक्दा नियमित अन्तरमा विकेट गुमाएको थियो ।

जनकपुरका कप्तान हरमीत सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिनुभयो । ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १ विकेट लिनुभयो । यसै खेलबाट एनपीएलमा डेब्यु गर्नुभएका आयरल्यान्डका खेलाडी टेक्टरले ४ ओभरमा मात्र ९ रन खर्चिनुभयो ।

यो जितसँगै ६ खेलबाट ४ जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ८ अंक रहेको शीर्ष स्थानको काठमाडौं गोर्खाजभन्दा सुदूरपश्चिम रनरेटमा पछाडि छ । जितसँगै सुदूरपश्चिमको प्लेअफ सम्भावना थप बलियो बनेको छ ।

पहिलो संस्करणको विजेता जनकपुरको भने ६ खेलमा यो चौथो हार हो । ४ अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुरलाई प्लेअफमा पुग्न अब बाँकी खेल जित्नुपर्ने दबाब बढेको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ भने जनकपुरले चितवन राइनोजसँग खेल्नेछ ।