जनता टाइम्स

२४ कार्तिक २०८३, मंगलबार ०९:०७

नेपाल संवत् मानवता, समानता र सामाजिक न्यायको प्रेरणादायी दस्तावेज : मुख्यमन्त्री हिक्मतकुमार कार्की


विराटनगर, कात्तिक २४। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले नेपाल संवत् नेपालीहरूको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले जनतालाई ऋणमुक्त गराएर यसको सुरुवात गर्नुभएको स्मरण गर्नुभएको छ। उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो मानवता, समानता, सामाजिक न्याय, परोपकार र जनताको सुख र समृद्धिको प्रेरणादायी ऐतिहासिक दस्तावेज पनि हो।”

नेपाल संवत्ले समाजमा विद्यमान आर्थिक तथा सामाजिक असमानता हटाउँदै सामूहिक हित, आपसी सहयोग र जनकल्याणलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “समाजमा विद्यमान आर्थिक तथा सामाजिक असमानता हटाउँदै सामूहिक हित, आपसी सहयोग र जनकल्याणलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश नेपाल संवत्ले हामीलाई दिएको छ। यसको ऐतिहासिक र सामाजिक महत्त्व आज पनि उत्तिकै सान्दर्भिक छ।”

कोशी प्रदेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले हिमाल, पहाड र तराईको अनुपम विविधताले प्रदेशलाई विशिष्ट बनाएको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानले समृद्ध कोशी प्रदेशको आफ्नै विशिष्ट ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचान रहेको छ। हिमाल, पहाड र तराईको अनुपम विविधताले सजिएको यस प्रदेशमा बसोबास गर्ने विभिन्न समुदायका मौलिक पर्व, संस्कृति, भाषा, कला, साहित्य र परम्पराहरू हाम्रो साझा सम्पत्ति र गौरव हुन्।”

विभिन्न समुदायका मौलिक संस्कृति र परम्पराको संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको औँल्याउँदै उहाँले भन्नुभएको छ, “यी अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो।”

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार मौलिक संवत्, भाषा, कला, संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभएको छ। उहाँले भन्नुभएको छ, “कोशी प्रदेश सरकार नेपालको मौलिक संवत्, भाषा, कला, संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै विविधताभित्रको एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई संस्थागत गर्न प्रतिबद्ध छ।”

नेपाल संवत् जस्ता ऐतिहासिक तथा सांस्कृतिक धरोहरले नयाँ पुस्तामा आफ्नो इतिहास, सभ्यता र संस्कृतिप्रतिको गौरवबोध अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै उहाँले यसले मौलिक पहिचानलाई जीवन्त राख्न सहयोग पुग्ने बताउनुभएको छ।

नयाँ वर्षले कोशी प्रदेशसहित समग्र नेपालमा आपसी एकता, भाइचारा, सद्भाव, सामाजिक न्याय र आर्थिक समृद्धिको नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभएको छ, “सबै समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै विकास, सुशासन, समान अवसर र समुन्नत समाज निर्माणको यात्रामा हामी सबैलाई एकताबद्ध भएर अघि बढ्ने प्रेरणा मिलोस्।”

उहाँले शुभकामना सन्देशमार्फत भन्नुभएको छ, “नेपाल संवत् ११४७ ले सबै नेपालीको जीवनमा सुख, शान्ति, प्रगति र समृद्धिको नयाँ बिहानी ल्याओस् भन्ने कामना गर्दछु। सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाल संवत् ११४७ तथा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!”