काठमाडौं, कात्तिक २४। नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा पहिलो संस्करणको विजेता जनकपुर र दुई पटकको उपविजेता सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्। खेल आज अपराह्न ५ बजे सुरु हुनेछ।
आजको खेलमा सुदूरपश्चिम आफ्नो जितको लय कायम राख्दै अंकतालिकामा थप सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछ। पाँच खेल खेलेको सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। ६ अंक जोडेको टोली हाल अंकतालिकाको तेस्रो स्थानमा रहेको छ।
प्लेअफमा स्थान बनाउने सम्भावना बलियो पार्न सुदूरपश्चिमका लागि आजको खेल महत्वपूर्ण मानिएको छ। त्यसैले टोली जित निकाल्ने योजनामा हुनेछ।
यता, जनकपुर बोल्ट्स पनि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ। पाँच खेल खेलेको जनकपुरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ। चार अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि पनि आजको खेल प्लेअफ यात्राका दृष्टिले महत्वपूर्ण हुनेछ।
जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। एनपीएलको तेस्रो संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।














प्रतिक्रिया दिनुहोस्