जनता टाइम्स

२३ कार्तिक २०८३, सोमबार १५:१०

रुकुम पश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु, १३ घाइते, ६ जनाको अवस्था गम्भीर


काठमाडौं, कात्तिक २३ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते हुनुभएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

उक्त जिप आठबिसकोट नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप विकले चलाएका थिए । दुर्घटनामा आठबिसकोट नगरपालिका–५ निवासी १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनामा परी १३ जना घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा रहेका छन् । वीरबहादुर थापा दुर्घटनाग्रस्त जीपका धनीसमेत रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा मध्यम घाइते हुनुभएको छ ।

सामान्य घाइते हुनेहरूमा २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी रहेका छन् । 

प्रहरीका अनुसार सामान्य तथा मध्यम अवस्थाका ६ जना घाइतेलाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ ।  

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनापछि जिप चालक घटनास्थलबाट फरार रहेको र उहाँको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जिप भने घटनास्थलमै रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।