नुवाकोट, कात्तिक २३। नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई महिला र एक पुरुषको ज्यान गएको हो।
नेपाल प्रहरीका अनुसार आज बिहान करिब १०ः५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटनामा परेको हाे ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ स्थायी घर भई हाल नुवाकोटको विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङको मृत्यु भएको छ। त्यस्तै, मोटरसाइकलमा सवार नुवाकोटको विदुर नगरपालिका–१३ निवासी ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगरको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्याइएको थियो। तर, चिकित्सकले उपचारका क्रममा उनीहरूलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्