अमेरिका, कात्तिक २३ । नेपालका बाढीपीडितका लागि एक करोड अमेरिकी डलर अर्थात् करिब डेढ अर्ब रुपैयाँ सहयोगको चर्चा चलिरहेका बेला विश्वकै चर्चित प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ अर्को एउटा अन्तर्राष्ट्रिय विवादको केन्द्रमा पुगेका छन्।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले ८ नोभेम्बर २०२६ मा प्रकाशित गरेको समाचारअनुसार, एनभिडियाको सञ्चालक समितिले हुआङ चीनको गुप्तचर प्रयासको निशाना बनेको भन्ने सार्वजनिक रिपोर्टपछि उहाँसँग सम्बन्धित विषयमा स्वतन्त्र अनुसन्धान सुरु गरेको हो ।
यस घटनाले तीनवटा महत्वपूर्ण प्रश्न उठाएको छ, ‘हुआङलाई चीनको गुप्तचर प्रयाससँग किन जोडियो ? एनभिडियाले आफ्नै प्रमुख कार्यकारीमाथि किन अनुसन्धान गर्नुपर्यो ? र यस विषयमा अमेरिकी अधिकारीहरूको धारणा के छ ? स्वयं हुआङ के भन्छन ?’ भन्ने कुरा यतिबेला अमेरिकामा मात्र नभएर बिश्वभर चासोको बिषय बनेको छ ।
एक महिला, एक सम्बन्ध र अमेरिकी राष्ट्रिय सुरक्षाको प्रश्न
यो विवादको केन्द्रमा जेन्सेन हुआङ मात्रै छैनन् । यसमा चीनकी नागरिक तथा सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिड (Megaspeed) की पूर्व कार्यकारी एलिस हुआङको नाम पनि जोडिएको छ । एलिस र जेन्सेनबीच पारिवारिक सम्बन्ध भने छैन ।
अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले अक्टोबर २०२६ मा प्रकाशित गरेको रिपोर्टलाई उद्धृत गर्दै सीबीएस न्युज र रोयटर्सले जनाएअनुसार अमेरिकी गुप्तचर निकायहरूले एलिस हुआङ चीनको राज्य सुरक्षा मन्त्रालयसँग आबद्ध भएर सूचनाहरू बेइजिङसम्म पुर्याउने काममा संलग्न रहेको निष्कर्ष निकालेका थिए ।
रिपोर्टअनुसार, एलिसले जेन्सेनसँग निकट सम्बन्ध बनाएकी थिइन् । अमेरिकी अधिकारीहरूको चासोको विषय यही सम्बन्धमार्फत एनभिडियासम्बन्धी संवेदनशील व्यावसायिक वा रणनीतिक सूचना चीनसम्म पुगेको हुन सक्ने सम्भावना हो ।
यद्यपि, यी विवरण सञ्चारमाध्यमले अमेरिकी गुप्तचर निकायका निष्कर्ष भन्दै प्रकाशित गरेका आरोप र रिपोर्ट हुन् । जेन्सेन हुआङले चीनका लागि जासुसी गरेको वा एनभिडियाको गोप्य सूचना हस्तान्तरण गरेको प्रमाण भने कँही कतै सार्वजनिक भएको छैन ।
यहाँ अर्को महत्वपूर्ण पक्ष मेगास्पिडको व्यापार हो । उक्त कम्पनीले एनभिडियाबाट ठूलो परिमाणमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी चिप खरिद गर्दै आएको थियो । रोयटर्सका अनुसार, पछिल्ला दुई वर्षमा मेगास्पिडले एनभिडियाका ४ अर्ब ८० करोड डलरभन्दा बढी मूल्यका चिप खरिद गरेको थियो ।
अमेरिकी अधिकारीहरूले मेगास्पिडमाथि चीनले निर्यात प्रतिबन्ध लगाएका उन्नत एआई चिपसम्म पहुँच बनाउन सहयोग गरेको हुन सक्ने आशङ्कामा पनि निगरानी र अनुसन्धान गरेका थिए ।
यसले विवादलाई व्यक्तिगत सम्बन्धमा मात्र सीमित नराखी अमेरिकी प्रविधि, चीनको एआई महत्वाकाङ्क्षा र विश्वव्यापी चिप व्यापारको सुरक्षासम्म पुग्ने देखिएको छ ।
एनभिडियाको सञ्चालक समितिले किन अनुसन्धान थाल्यो ?
आइतवार अर्थात नोभेम्बर ८, २०२६ मा एनभिडियाको सञ्चालक समितिले आधिकारिक वक्तव्य जारी गर्दै हुआङसँग सम्बन्धित घटनाक्रमबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको घोषणा गर्यो । सो कम्पनीको वक्तव्यअनुसार, स्वतन्त्र सञ्चालकहरूको एउटा समितिले बाह्य कानुनी परामर्शदाताको सहयोगमा अनुसन्धानको नेतृत्व गर्नेछ ।
एनभिडियाले आफ्नो वक्तव्यमा अमेरिकी राष्ट्रिय सुरक्षा र आर्थिक सुरक्षालाई कम्पनी तथा सेयरधनीको हितसँग जोडेर हेरेको छ । तर कम्पनीले अहिलेसम्म अमेरिकी राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचना सम्झौता भएको विश्वास गर्ने कुनै कारण नरहेको पनि स्पष्ट पारेको छ । यसको अर्थ कम्पनीले आरोपलाई प्रमाणित तथ्य मानेको छैन । तर राष्ट्रिय सुरक्षा र कम्पनीको व्यावसायिक विश्वसनीयतासँग जोडिएको विषय भएकाले उपलब्ध सबै सूचनाको परीक्षण गर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिले हुआङले अनुसन्धानलाई पूर्ण समर्थन गरेको र अनुसन्धानकर्ताहरूसँग सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि बताएको छ । समितिले हुआङ र उहाँको नेतृत्व टोलीप्रति विश्वास कायम रहेको उल्लेख गरेको छ ।
जेन्सेन हुआङ आफैँ के भन्छन ?
हुआङले यस प्रकरणमा दिएको प्रतिक्रियालाई दुईवटा पक्षबाट बुझ्नुपर्छ । पहिलो, एलिस हुआङसँगको सम्बन्धबारे सार्वजनिक भएका समाचारप्रति उहाँले यसअघि एनभिडियाको तर्फबाट प्रतिक्रिया दिनुभएको थियो ।
एबीसी न्युजका अनुसार, कम्पनीका प्रवक्ताले जेन्सेनले वर्षमा हजारौं ग्राहक कम्पनीका कार्यकारीसँग भेटघाट गर्ने र एलिससँगको भेटघाट पनि अस्वाभाविक वा अप्रत्याशित नभएको बताउनु भएको थियो । कम्पनीले अमेरिकी सरकारले कुनै व्यक्ति वा संस्थालाई अमेरिकी उद्योगका लागि खतरा ठानेमा त्यसबारे आफूलाई जानकारी गराउने विश्वास पनि व्यक्त गरेको थियो ।
दोस्रो, नोभेम्बर ८ मा सार्वजनिक भएको कर्मचारीहरूलाई सम्बोधन गरिएको सन्देशमा हुआङले आफ्नो पारिवारिक सम्बन्धमा भएको बेइमानी स्वीकार गर्दै पत्नी र छोराछोरीसँग माफी माग्नुभएको छ । उहाले आफ्नो व्यवहारका कारण परिवारलाई चोट पुगेको स्वीकार गर्दै त्यसको कुनै बहाना नभएको बताउनु भएको छ । कम्पनीका कर्मचारी, सञ्चालक समिति, साझेदार र सेयरधनीप्रतिको जिम्मेवारी पूरा गर्न आफू चुकेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
तर यो स्वीकारोक्ति र चीनको गुप्तचर गतिविधिसम्बन्धी आरोपमा होइन । दुवै बिषयलाई एउटै विषयका रूपमा बुझ्नु हुँदैन । हुआङले व्यक्तिगत सम्बन्धमा भएको बेइमानी स्वीकार गरेका भएपनि चीनलाई गोप्य सूचना दिएको स्वीकार गर्नुभएको होइन ।
राष्ट्रिय सुरक्षासम्बन्धी समाचारमा उठेका प्रश्नबारे उहाँले अनुसन्धानलाई समर्थन गर्ने, पूर्ण सहयोग गर्ने र एनभिडियाको सुरक्षा तथा अमेरिकी राष्ट्रिय सुरक्षाको संरक्षणमा प्रतिबद्ध रहने बताउनु भएको छ । उहाँको सन्देशको मूल आशय कम्पनीप्रतिको जिम्मेवारी कायम राख्दै आफ्नो नेतृत्वमाथि उठेका प्रश्नको जवाफ अनुसन्धानबाट दिने भन्ने देखिन्छ।
अमेरिकी राष्ट्रपति र अधिकारीहरू के भनिरहेका छन ?
यस घटनामा अमेरिकी प्रशासनको प्रतिक्रिया पनि चासोको विषय बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै आफूले उहाँसँग यस विषयमा कुरा नगरेको बताउनु भएको छ । तर हुआङलाई राम्रो व्यक्ति र सम्मानयोग्य व्यक्ति भन्दै उनले आफ्नो कम्पनीका लागि असाधारण काम गरेको टिप्पणी ट्रम्पले गर्नुभएको छ ।
रोयटर्सका अनुसार, ट्रम्पले आरोपबारे थप जानकारी सुन्नुपर्ने र हुआङसँग आफ्नो पक्षमा भन्न सकिने कारण हुन सक्ने आशय व्यक्त गर्नुभएको छ । यसअघि नोभेम्बर १ मा पनि ट्रम्पले हुआङलाई आफूले सधैँ पारदर्शी र इमानदार व्यक्तिका रूपमा पाएको बताउनु भएको थियो । तर अमेरिकी गुप्तचर सूचनाको विषय जटिल भएकाले अन्तिम निष्कर्ष पर्खनुपर्ने उहाँको भनाइ थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने यस विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा टिप्पणी गर्न अस्वीकार गर्नुभएको छ ।
उता अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूले नोभेम्बर ४ मा पठाएको पत्रमार्फत हुआङलाई यसै महिना कंग्रेससमक्ष उपस्थित भएर स्पष्टीकरण दिन आग्रह गरेका छन्। उनीहरूले चीनको पहुँचमा अमेरिकी संवेदनशील प्रविधि र सूचना पुगेको हुन सक्ने विषयलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रश्नका रूपमा उठाएका छन्।
यसरी हेर्दा अमेरिकी प्रशासनभित्र पनि विषयलाई लिएर सार्वजनिक अभिव्यक्तिको शैली फरक देखिन्छ । राष्ट्रपति ट्रम्पले हुआङप्रति विश्वास व्यक्त गर्ने भाषा प्रयोग गरेका छन् भने सांसदहरूले कंग्रेसमार्फत जवाफदेहिता खोजिरहेका छन् । विदेश मन्त्रालयले भने तत्काल टिप्पणी गरेको छैन ।
चीनले गर्यो आरोप अस्वीकार
अमेरिकी सञ्चारमाध्यममा गुप्तचर गतिविधिसम्बन्धी समाचार सार्वजनिक भएपछि चीनले पनि प्रतिक्रिया दिएको छ । एबीसी न्युज र बीबीसीलाई उद्धृत गर्दै सीबीएस न्युजले जनाएअनुसार, चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनमाथि लगाइएका आरोपलाई आधारहीन अनुमान र बदनाम गर्ने प्रयासका रूपमा व्याख्या गर्नुभएको छ ।
चीनले आफ्नो देशले जेन्सेन हुआङलाई लक्षित गरेर जासुसी अभियान सञ्चालन गरेको भन्ने आरोप अस्वीकार गरेको छ । तर चीनको खण्डन र अमेरिकी गुप्तचर निकायसँग सम्बन्धित सञ्चारमाध्यमका रिपोर्टबीचको विवाद अझै सार्वजनिक रूपमा टुङ्गिएको छैन । एलिस हुआङ र मेगास्पिडले पनि सञ्चारमाध्यमका प्रश्नमा तत्काल प्रतिक्रिया दिनुभएको थिएन ।
एनभिडियामाथि अनुसन्धानको असर के पर्न सक्छ ?
एनभिडिया अहिले विश्वव्यापी एआई उद्योगको केन्द्रमा रहेको कम्पनी हो । यसका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) हरू एआई मोडलको प्रशिक्षणदेखि सञ्चालनसम्म प्रयोग हुन्छन् । गुगल, माइक्रोसफ्ट, अमेजन र मेटाजस्ता प्रविधि कम्पनीहरूलाई एनभिडियाका चिप आवश्यक पर्छन् । त्यसैले हुआङमाथि उठेको प्रश्न एउटा कम्पनीका प्रमुख कार्यकारीको व्यक्तिगत मामिलामा मात्र सीमित छैन । यसले अमेरिकी प्रविधि चीनसम्म कसरी पुगिरहेको छ ?, निर्यात नियन्त्रण कत्तिको प्रभावकारी छ ? र ठूला प्रविधि कम्पनीले राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम कसरी व्यवस्थापन गरिरहेका छन् ? भन्ने विषयलाई फेरि चर्चामा ल्याएको छ ।
अमेरिकाले सन् २०२२ देखि चीनको उन्नत सेमिकन्डक्टर प्रविधिमा पहुँच सीमित गर्ने उद्देश्यले विभिन्न निर्यात नियन्त्रणका उपाय लागू गर्दै आएको छ । तर विश्वव्यापी आपूर्ति शृङ्खला र तेस्रो मुलुकमार्फत हुने कारोबारले यी नियन्त्रणको प्रभावकारितामाथि निरन्तर प्रश्न उठाइरहेका छन् ।
रोयटर्सका अनुसार, हुआङको नेतृत्वमाथि अनिश्चितता थपिँदा एनभिडियाको सेयर बजार र लगानीकर्ताको विश्वासमा समेत असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन् । तर अनुसन्धानको नतिजा नआएसम्म हुआङको नेतृत्व वा कम्पनीको भविष्यबारे निश्चित निष्कर्ष निकाल्न नसकिने बिश्लेषण भइरहेको छ ।
हुआङले नेपालका बाढीपीडितलाई गरेका थिए एक करोड डलर सहयोग
यो अन्तर्राष्ट्रिय विवादसँगै नेपाली पाठकका लागि अर्को चासोको विषय हो-नेपालका बाढीपीडितलाई सहयोग गर्ने हुआङमाथि अनुसन्धान भइरहँदा उक्त सहयोगको अवस्था के छ ? गत भदौ १० गते अर्थात अगस्ट २६ मा भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि नेपालमा ठूलो जनधनको क्षति भयो ।
उद्धार, राहत र पुनर्निर्माणका लागि देशभित्र र विदेशबाट सहयोग जुटिरहेको थियो । यही क्रममा एनभिडियाले नेपाललाई १० मिलियन अमेरिकी डलर अर्थात् एक करोड डलर सहयोग गरेको समाचार सार्वजनिक भयो । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नै हुआङले गरेको सहयोग घोषणाको सूचना शेयर गर्दै धन्यवाद दिनुभयो । त्यसपछि यो समाचार जताततै फैलियो ।
हुन पनि सो घोषणाअनुसार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको थियो । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पनि रकम जम्मा भएको जानकारी दिनुभएको छ ।
अनुसन्धानको परिणामले तय गर्नेछ विवादको दिशा
जेन्सेन हुआङको घटनाले आजको प्रविधि उद्योग कति धेरै भू–राजनीतिक प्रतिस्पर्धासँग गाँसिएको छ भन्ने देखाएको छ । एउटा व्यक्तिगत सम्बन्धमाथि उठेको प्रश्नले विश्वकै महत्वपूर्ण एआई चिप उत्पादक कम्पनीको सञ्चालक समितिलाई अनुसन्धान गर्न बाध्य बनाएको छ ।
अमेरिकी गुप्तचर निकायका निष्कर्षबारे सञ्चारमाध्यममा आएका विवरण, चीनको खण्डन, अमेरिकी सांसदहरूको चासो र ट्रम्प प्रशासनको प्रतिक्रिया सबैले यस विषयलाई थप जटिल बनाएका छन् । तर अहिले नै हुआङले चीनलाई गोप्य सूचना दिएको वा अमेरिकी राष्ट्रिय सुरक्षा जोखिममा पारेको ठहर गर्न सकिँदैन । एनभिडियाको सञ्चालक समितिले नै राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना चुहिएको विश्वास गर्ने आधार नरहेको बताएको छ ।
त्यसैले आगामी अनुसन्धानबाट तीनवटा प्रश्नको जवाफ खोजिनेछ-हुआङ र एलिसबीचको सम्बन्धको वास्तविक प्रकृति के थियो ? उक्त सम्बन्धमार्फत कुनै संवेदनशील सूचना आदानप्रदान भयो कि भएन ? र अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम वास्तवमै उत्पन्न भएको थियो कि थिएन ? यी प्रश्नको जवाफ नआएसम्म यो प्रकरण आरोप, प्रतिवाद र अनुसन्धानकै चरणमा रहनेछ ।














प्रतिक्रिया दिनुहोस्