काठमाडौं, कात्तिक २३। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आज हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ ।
त्यस्तै, दोस्रो खेलमा काठमाण्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन् । उक्त खेल अपराह्न ५ बजे सुरु हुनेछ । दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
‘प्लेअफ’मा पुग्ने झिनो सम्भावना कायम राख्न पोखरा एभेन्जर्सलाई आजको खेल जित्नैपर्ने दबाब छ । चार खेल खेलिसकेको पोखरा अहिलेसम्म जितविहीन रहँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
छैटौँ स्थानमा रहेको कर्णाली याक्सले भने चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । आजको खेल जित्दै कर्णाली अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछ ।
त्यस्तै, आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने काठमाण्डु गोर्खाज उत्कृष्ट लयमा देखिएको छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डुले आज पनि जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्य राखेको छ ।
उता, चितवन राइनोज पनि आफ्नो अपराजित यात्रा कायम राख्दै अङ्क तालिकामा सुधार गर्ने योजनामा हुनेछ । चार खेलबाट पाँच अङ्क जोडेको चितवन हाल तालिकाको चौथो स्थानमा छ ।
आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलको यस संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्