काठमाडौं, कात्तिक २२ । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी हुँदा करिब ५ करोड बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट मानवीय क्षति नभएको र भौतिक नोक्सानीको पनि पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ८ः५५ बजे महेन्द्र सालिक अगाडि होटल वुडल्याण्डको साइटमा रहेको उक्त डान्सबारमा विद्युत् सर्ट भई आगलागी भएको थियो ।
सञ्जिव लामाले सञ्चालन गर्दै आएको डान्सबारमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौं महानगर प्रहरी तथा स्थानीय गरी करिब ८० जना परिचालित भएका थिए ।
काठमाडौं महानगरपालिकाका दुई दमकल, नेपाली सेनाको एउटा पानी ट्यांकर, काठमाडौं खानेपानी विभागका दुई ट्यांकर र सशस्त्र प्रहरी बलको एक ट्यांकरको सहयोगमा आगो निभाइएको थियो । प्रहरीका अनुसार बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा लिन साढे ३ घण्टा लागेको थियो ।














प्रतिक्रिया दिनुहोस्