काठमाडौं, कात्तिक २२ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आगामी मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते सुर्खेत रङ्गशालामा हुने तय भएको छ।
दसौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको खेल तालिकाअनुसार मंसिर ८ गतेदेखि ६ खेलका प्रतिस्पर्धा सुरु हुनेछन्। जसमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्याण्डबल, महिला बास्केटबल, टेनिस र पौडी रहेका छन्।
प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुने निश्चित भएको छ। सुर्खेतमा एथलेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कनट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रोका खेल हुनेछन्।
त्यस्तै, टेनिस र खो खो बर्दियामा, जुडो र कुस्ती सल्यानमा, शारीरिक सुगठन पश्चिम रुकुममा, आईटीएफ तेक्वान्दो दैलेखमा, बुद्धिचाल कालिकोटमा तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन हुने तय भएको छ। प्रतियोगिताको समापन समारोह मंसिर २७ गते हुने तय भएको छ।














प्रतिक्रिया दिनुहोस्