काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले राजनीतिक प्रतिस्पर्धाभन्दा राष्ट्रिय हितलाई माथि राख्नुपर्ने बताउनुभएको छ। उहाँले विवाद र विभाजनको बाटो छाडेर संवाद, सहकार्य र राष्ट्रहितलाई प्राथमिकता दिन सबैलाई आग्रह गर्नुभएको हो।
दीपावलीको शुभकामना सन्देश जारी गर्दै उपसभापति भण्डारीले दिदीबहिनी र दाजुभाइबीचको प्रेम, सद्भाव र आत्मीयता मुलुक र जनताबीच पनि कायम हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
उहाँले प्रकृतिको प्रहार रोक्न मानिसको हातमा नभए पनि जनताको सुरक्षा, राजनीतिक द्वन्द्वको अन्त्य, विधिको शासन, सुशासन र पारदर्शिता स्थापित गर्दै देश निर्माणमा एकजुट हुन सकिने बताउनुभएको छ। यसका लागि इमानदार इच्छा, इच्छाशक्ति र दृढ सङ्कल्प आवश्यक रहेको उहाँको भनाइ छ।
भण्डारीले राजनीतिक दल तथा नेताहरूलाई एकअर्कालाई हराउने प्रतिस्पर्धाभन्दा गरिबी, बेरोजगारी र पछौटेपनविरुद्ध एकजुट भएर अघि बढ्न आग्रह गर्नुभएको छ। उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘हामी एकअर्कालाई हराएर होइन, गरिबी, बेरोजगारी र पछौटेपनलाई हराएर अघि बढौँ। राजनीतिक प्रतिस्पर्धाभन्दा राष्ट्रिय हितलाई माथि राखौँ।’
राजनीतिक अनुभवले देशको हितलाई प्राथमिकता दिनुपर्ने पाठ सिकाएको उल्लेख गर्दै उहाँले ‘राजनीति जित्नुभन्दा देशले जित्नु ठुलो कुरा हो’ भन्ने धारणा राख्नुभएको छ। मुलुकमा राजनीतिक विवाद र विभाजनभन्दा सहकार्यको आवश्यकता औँल्याउँदै भण्डारीले विवाद होइन संवाद, विभाजन होइन सहकार्य र स्वार्थ होइन राष्ट्रहित रोज्नुपर्नेमा जोड दिनुभएको छ।
दीपावलीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले मुलुक र जनताबीच पनि पारिवारिक सम्बन्धमा जस्तै प्रेम, सद्भाव र आत्मीयता कायम रहोस् भन्ने कामना गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्