जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार ०७:०९

तिहारमा मिठाई र झिलिमिली बत्तीको व्यापार बढ्यो, बजारमा ग्राहकको भीड


काठमाडौं, कात्तिक २२ । तिहार सुरु भएसँगै बजारमा मिठाई, पूजाका सामग्री र झिलिमिली बत्तीको व्यापार बढेको छ । चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको भीड लागेपछि बजारमा चहलपहल बढेको हो ।

सुनसरीको धरानस्थित भानुचोक, घण्टाघर, सब्जीमण्डी र पुरानो बजार क्षेत्रमा बिहानदेखि साँझसम्म तिहारका सामग्री किन्ने र बेच्नेको घुइँचो लाग्ने गरेको छ । सडकपेटीमा अस्थायी पसल सञ्चालन गरेका साना व्यापारीसमेत व्यापारमा व्यस्त छन् ।

धरानका व्यापारी नकुल दासले किसमिस, नरिवल, मिठाई र झिलिमिली बत्ती बिक्री गरेर दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको बताउनुभयो । बिहान र साँझ ग्राहकको चाप बढी हुने उहाँको भनाइ छ ।

पछिल्लो समय परम्परागत दियोभन्दा आधुनिक झिलिमिली बत्तीको माग बढेको व्यापारीहरू बताउँछन् । तिहारलाई लक्षित गरी केही महिनाअघिदेखि नै बत्तीको व्यवस्था गर्ने गरिएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहारले साना व्यापारीलाई आम्दानीको अवसर दिएको बताउनुभयो । उहाँले सडकपेटीमा पसल सञ्चालन गर्दा भीड र आवागमन व्यवस्थापन चुनौती बनेको उल्लेख गर्दै बजारलाई व्यवस्थित र सुरक्षित बनाउन प्रशासनसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

तिहारमा फूलमाला, मिठाई, माटाका पाला र झिलिमिली बत्तीको माग बढेसँगै स्थानीय बजारको आर्थिक गतिविधि पनि चलायमान बनेको छ ।