काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा आर्थिक लेनदेन भएको दाबी गर्नुभएको छ। उहाँले १८ करोड रुपैयाँ दिएर पार्टी किन्ने प्रयास भएको आराेप लगाउनुभयाे ।
नेपाली कांग्रेसको देउवा पक्षले आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफूले नियमित महाधिवेशन छिटो गरौँ भन्ने प्रस्ताव राखे पनि आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन गरिएको बताउनुभयो।
उहाँले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले आफ्नो ज्यानमा खतरा रहेको बताउनुभएको समाचार आफूले पढेको उल्लेख गर्दै पार्टीको आधिकारिकता विवादमा उठेको आर्थिक लेनदेनको प्रसङ्गसमेत जोड्नुभयो। ‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले मेरो ज्यानको खतरा भएको छ भनेको मैले समाचारमा पढेको थिएँ तर ठूला–ठूला कुरा गर्नेहरू १८ करोड दिएर पार्टी किन्ने ? अब पैसामा पार्टी बेच्ने हामीले ? इनम सापकोटाको कुरा आएको छ नि, कुरा स्पष्ट छ त,’ देउवाले भन्नुभयो।
आफू पार्टी सभापति रहेकै अवस्थामा गगन थापा पक्षले विशेष महाधिवेशन आयोजना गरेको भन्दै उहाँले त्यसविरुद्ध आफूहरू अदालत जानुपरेको स्पष्ट पार्नुभयो। ‘म पार्टी सभापति छु, मैले महाधिवेशन गराएको छैन, त्यसकारण हामी अदालत जानुपरेको हो,’ उहाँले भन्नुभयो।
देउवाले आफू राजनीतिबाट सम्मानजनक रूपमा बिदा हुन चाहेको पनि बताउनुभयो। अब आफूलाई पार्टीमा कुनै पदको लोभ वा मोह नरहेको उल्लेख गर्दै उहाँले उमेरलगायतका कारणले पनि पदमा रहिरहने चाहना नभएको स्पष्ट पार्नुभयो। ‘म सम्मानजनक रूपमा बिदा लिन चाहन्छु, मलाई कुनै लोभ छैन, मेरो उमेर र अन्य कारणले पनि,’ उहाँले भन्नुभयो।
यसैबीच, नेपाली कांग्रेसमा बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूले आफ्नो अधिकार खोजिरहेको देउवाको भनाइ छ। उहाँले कांग्रेस सबैको साझा पार्टी भएको उल्लेख गर्दै आगामी दिनमा पनि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। ‘यो पार्टी उहाँहरूकै हो, हाम्रो पार्टी हो, हामी भोलिका दिनमा पनि सँगै रहनेछौँ,’ देउवाले भन्नुभयो।














प्रतिक्रिया दिनुहोस्