जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार १६:३०

सबै संयन्त्रलाई निकम्मा बनाएर देशमा विदेशी सेना भित्र्याउने षड्यन्त्र हुँदैछ : कैलाश ढुङ्गेल 


रामेछाप, कात्तिक २१ । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले राजनीतिक दल, प्रेस, अदालत, प्रहरी र नागरिक समाजलाई एकपछि अर्को गर्दै निकम्मा साबित गरेर मुलुकलाई अराजकताको भुमरीमा धकेल्ने प्रयास भइरहेको बताउनुभएकाे छ । 

शनिबारदेखि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सुरु भएको जिल्ला अन्तरवडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै ढुङ्गेलले देशमा सुरक्षा समस्या नरहे पनि नियोजित रूपमा अस्थिरता सिर्जना गर्न खोजिएको टिप्पणी गर्नुभयाे । उहाँले नेपालमा संयुक्त राष्ट्रसंघ (यूएन) का सेना ल्याएर परेड खेल्ने वातावरण बनाउन खोजिएको भन्दै कडा चेतावनी दिनुभयाे । ‘पुराना राजनीतिक दल निकम्मा, प्रेस निकम्मा, अदालत निकम्मा, प्रहरी निकम्मा, नागरिक समाज निकम्मा, सबैलाई निकम्मा बनाएर, अराजकताको भुमरी बनाएर देशलाई युएनका सिपाही ल्याएर परेड खेल्ने वातावरण बनाइँदै छ, खबरदार हामी यो हुन दिँदैनौँ, नेपालमा सुरक्षाको समस्या छैन तर बनाइँदै छ।’

उहाँले विगत ३५ वर्षमा मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभयो। विगतका राजनीतिक नेतृत्व र सरकारले गरेका विकास निर्माण तथा परिवर्तनका उपलब्धिलाई पूर्ण रूपमा अस्वीकार गर्दै आफूहरू मात्रै देश बनाउन सक्षम भएको प्रचार गर्नु हास्यास्पद भएको उहाँको टिप्पणी थियो। ‘३५ वर्षमा काेहिले केही गरेन, अब हामी गर्छौँ भनेर खरानीको डोरी बाट्ने मान्छेको पनि कमी छैन हाम्रो समाजमा, खरानीको डोरी बाटिन्छ, कहिलेकाहीँ मानिस भुलिन्छ, तर सधैँ भुलिँदैन,’ उहाँले भन्नुभयो।

ढुङ्गेलले नेपाली नागरिक सचेत र शान्तिप्रेमी रहेको उल्लेख गर्दै हिंसा तथा आतंकको राजनीतिलाई जनताले स्वीकार नगर्ने बताउनुभयो। मुलुकको विकास र समृद्धिका लागि शान्ति, सहयोग र सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।

बागमती प्रदेशका पूर्वआर्थिक मामिलामन्त्रीसमेत रहनुभएका ढुङ्गेलले सडक, विद्युत्, खानेपानी, सिँचाइ तथा भौतिक पूर्वाधारका क्षेत्रमा भएका विकासका काम कसको नेतृत्व र पहलमा सम्पन्न भएका हुन् भन्ने विषयमा नागरिकले जानकारी राख्नुपर्ने बताउनुभयो। विगतका उपलब्धि र योगदानलाई मेटाएर नयाँ भाष्य स्थापित गर्न खोज्नु उचित नहुने उहाँको भनाई थियो।

कार्यक्रममा बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठ, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठलगायतले पनि धारणा राख्नुभएको थियो।

वडा खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा रामेछाप जिल्लाका २३ वटा वडाका २५ समूह सहभागी भएका छन्। वडा कार्यालयले नागरिक साझेदारीमा निर्माण गरेको प्याराफिटसहितको खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

कार्यक्रममा नगर प्रवक्तासमेत रहनुभएका वडा अध्यक्ष गोपाल श्रेष्ठले आपसी भाइचारा, सद्भाव र सामाजिक एकता बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले खेलाडीहरूलाई अनुशासित भएर प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभयो।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने टोलीले क्रमशः दुई लाख, एक लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टोलीलाई सिल्ड र मेडलसमेत प्रदान गरिने आयोजकले जनाएको छ।