काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौला पन्तले सरकारले दुई तिहाइको बहुमतलाई जनताका प्रश्नबाट उम्किने र असहमत आवाज दबाउने अधिकार ठानेको बत्ताउनुभएको छ ।
नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री पन्तले सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने दिशातर्फ अघि बढिरहेको टिप्पणी गर्नुभयो। लोकतन्त्रका लागि सङ्घर्ष गरेका राजनीतिक दल र नेताविरुद्ध नै राज्यशक्ति प्रयोग गरेर तर्साउने तथा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनेहरूलाई लखेट्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ ।
उहाँले मुलुकका विकराल समस्या समाधान गर्नुपर्ने सरकारको ध्यान लोकतन्त्रका लागि सङ्घर्ष गरेका नेता तथा राजनीतिक दलविरुद्ध राज्यशक्ति प्रयोग गर्न केन्द्रित भएको बताउनु बाउनुभयो। सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूलाई जवाफ दिनुको सट्टा लखेट्ने तथा खेद्ने काम भइरहेको भन्दै उहाँले यस्तो प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो।
सरकार दुई तिहाइको दम्भमा अघि बढिरहेको उल्लेख गर्दै पन्तले लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। सरकारको कार्यशैलीले लोकतान्त्रिक अधिकार र राजनीतिक स्वतन्त्रतामाथि खतरा उत्पन्न गराएको उहाँको भनाइ थियो। यस्ता गतिविधिविरुद्ध कांग्रेस आवश्यक परे सडकमा उत्रिनसमेत पछि नहट्ने उहाँले चेतावनी दिनुभयो।
उहाँले मुलुकको शिक्षा, रोजगारी र युवा पलायनको समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। शिक्षाको गुणस्तर खस्किँदै गएको र युवाका लागि विदेश नै प्रमुख गन्तव्य बन्दै गएको उल्लेख गर्दै उहाँले स्वदेशमै भविष्य देख्न सक्ने वातावरण निर्माण गर्न सरकार असफल भएको आरोप लगाउनुभयो।
नेपाली कांग्रेसले युवालाई विदेश होइन, स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने बताउँदै महामन्त्री पन्तले पार्टीभित्र परिवर्तनको अभियानले कांग्रेसलाई युवामय बनाएको उल्लेख गर्नुभयो। अब राष्ट्रको नेतृत्व गर्ने जिम्मेवारी युवाले लिनुपर्ने समय आएको उहाँको धारणा थियो।














प्रतिक्रिया दिनुहोस्