जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार १६:५५

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्तिको बाटो खुल्यो, संसदीय सुनुवाइ समितिबाट सबैको नाम अनुमोदित


काठमाडौं, कात्तिक २१ । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाले संसदीय सुनुवाइको प्रक्रिया पार गर्नुभएको छ। संसदीय सुनुवाइ समितिले प्रस्तावित चारै जनाको नाम अनुमोदन गरेसँगै उहाँहरूको सर्वोच्च अदालतको न्यायाधीश बन्ने बाटो खुलेको छ।

सिंहदरबारस्थित समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

उहाँहरूको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गरिएको थियो। सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको योग्यता, अनुभव, कार्यक्षमता तथा न्यायिक जिम्मेवारी निर्वाह गर्ने क्षमताका विषयमा छलफल भएको थियो।

यसअघि न्याय परिषद्ले चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब उहाँहरूको नियुक्तिका लागि संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रियाले पूर्णता पाएसँगै न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।