काठमाडौं, कात्तिक २१ । सरकारले अस्थायी बसोबासको व्यवस्था गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रित भोटेकोशी बाढीपीडितले आश्रयस्थल छाड्न थालेका छन् ।
गुम्बा व्यवस्थापनले लामो समय भइसकेकाले अब आफ्नै व्यवस्थापन गर्न भनेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन् । उनीहरू तत्काल आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने तयारीमा छन् ।
बाढीपीडितका अनुसार गृहमन्त्री सुदन गुरुङले गुम्बा पुगेर काठमाडौंमै अस्थायी बसोबासको व्यवस्था गर्ने आश्वासन दिनुभएको थियो । तर, दुई महिना बितिसक्दा पनि कुनै व्यवस्था नभएको उनीहरूको गुनासो छ ।
रसुवाको टिमुरेका बाढीपीडित पेमा दोर्जे घलेले सरकारले आवास, खाद्यान्न र गाउँ फर्कने सडकको व्यवस्था नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो । सरकारले दिएको १५ हजार रुपैयाँले कोठाभाडा तिर्ने कि खाद्यान्न किन्ने भन्ने समस्या रहेको उहाँको भनाइ छ ।
अर्का पीडित कामी नुर्बु तामाङले अधिकांश बाढीपीडित काठमाडौंमा बस्न नसक्ने भएकाले गाउँ फर्कन लागेको बताउनुभयो । उहाँले कृषि, पशुपालन र रोजगारीसँग पीडितलाई जोड्ने योजना ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।
मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए । उनीहरूमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा छन् ।
पीडितहरूले सरकारले पुनःस्थापना र जीविकोपार्जनको ठोस योजना नल्याए आफूहरू थप समस्यामा पर्ने बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्