जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार २१:०८

वार्नरको अर्धशतक र जहानदादको घातक बलिङले काठमाडौंलाई जितायो,  लुम्बिनीको पहिलो हार


काठमाडौं, कात्तिक २१ । नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित यात्रा कायम राख्दै आएको लुम्बिनी लायन्सलाई काठमाडौं गोर्खाजले पहिलो पराजय दिलाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा काठमाडौं लुम्बिनीलाई ३६ रनले पराजित गर्दै चार खेलबाट तेस्रो जित दर्ता गरेको हो।

काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै समेटिएपछि काठमाडौं सहज जित निकालेको हो। लुम्बिनीको ब्याटिङ ध्वस्त पार्ने क्रममा काठमाडौंका जहानदाद खानले सर्वाधिक चार विकेट लिए। करण केसीले दुई विकेट हात पार्दा सन्तोष यादव, शाहब आलम, राशिद खान र सहान अरच्चिगेले एक–एक विकेट लिए।

लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए अभिषेक गौतमले १६, निरोशन डिकवेलाले १४ तथा रुबेन ट्रम्पलमानले ११ रन जोड्नुभयो। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा लुम्बिनी लक्ष्यभन्दा निकै पछाडि रह्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो। काठमाडौंको इनिङ्सलाई ओपनरद्वय डेभिड वार्नर र साहिल पटेलले आक्रामक सुरुवात दिलाएका थिए। पावरप्लेमा टोलीले ४५ रन जोड्दै बलियो आधार तयार पारेको थियो।

वार्नरले ६६ रनको अर्धशतकीय इनिङ्स खेल्दा पटेलले ३८ रन बनाए। मध्यक्रममा सहान अरच्चिगेले आक्रामक ब्याटिङ गर्दै अविजित ३४ रन थपेपछि काठमाडौंले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेक गौतमले दुई–दुई विकेट लिए।

काठमाडौंको जितमा वार्नरको ब्याटिङ र जहानदादको बलिङ निर्णायक बन्यो। ब्याटिङमा बनाएको १६० रनको योगफललाई बलरहरूले प्रभावकारी प्रदर्शनमार्फत रक्षा गरेपछि काठमाडौंले लुम्बिनीको विजयी लयमा पूर्णविराम लगाएको छ।