रामेछाप, कात्तिक २१ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, रामेछापको अध्यक्षमा मिलन विक पुनः सर्वसम्मत चयन हुनुभएको छ।
शनिबार सम्पन्न समूहको दोस्रो जिल्ला अधिवेशनले विकको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा शर्मिला विसुन्खे, सचिवमा राजन महतारा क्षेत्री, सहसचिवमा संगम अधिकारी र कोषाध्यक्षमा डोरशंकर बरुवाल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा मणिराज सुनुवार र नवीन कार्की सर्वसम्मत चयन हुनुभएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, रामेछापका अध्यक्ष मिलन विकको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन बागमती प्रदेशसभा सदस्य एवम् उद्योग, पर्यटन तथा वन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले गर्नुभएको थियो।
उद्घाटन समारोहमा मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, मन्थली नगरपालिकाका वडाध्यक्षहरू हाेमप्रसाद पाैडेल, सुरेन्द्र कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष दीपककुमार घिमिरे, पूर्वअध्यक्षहरू हिमाल ढुङ्गेल, रमेश ढुङ्गेल र बद्री नयाँघरेलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू तथा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष सागर श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ र प्रदेश सचिव कुमार श्रेष्ठलगायत सहभागी हुनुभएको थियो।
अधिवेशनका अवसरमा संस्थाको विकासमा संस्थागत सहयोग पुर्याउने विभिन्न संघसंस्थालाई कदरपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले मुलुक अहिले गम्भीर संकटको अवस्थामा रहेको बताउनुभयो। पछिल्लो समय पत्रकारहरूमाथि सरकार निरंकुश रूपमा प्रस्तुत भइरहेको उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रताको रक्षा गर्नु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो।
हजारौँ शब्दबाट व्यक्त गर्न नसकिने विषय एउटा तस्बिरले स्पष्ट पार्न सक्ने बताउँदै श्रेष्ठले फोटोबिनाको पत्रकारिता कल्पना गर्न नसकिने उल्लेख गर्नुभयो। उहाँले पत्रकारहरूलाई समाजको ऐनाका रूपमा रहेर निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्