जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार ०९:४३

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


काठमाडौं, कात्तिक २२ । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा गएराति भएको दुर्घटनामा दुई पुरुषको ज्यान गएको हो ।

प्रहरीका अनुसार राति करिब ११ः५० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।