जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार १३:१२

जुम्लामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते


काठमाडौं, कात्तिक २२ । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका–१ स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका–१ स्थायी घर भई हाल कनकासुन्दरी गाउँपालिकामा बस्दै आउनुभएका अन्दाजी ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ । 

दुर्घटनामा घाइते भएका ६ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएर उपचार सुरु गरिएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाका बेला उक्त जीपमा १६ जना यात्रु सवार थिए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।