जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार १४:३९

दैलेखमा ठाटीकाँधमा घरमै पुगेर अन्धाधुन्ध हतियार प्रहार, सुत्केरीसहित एकै परिवारका ४ महिला घाइते


दैलेख, कात्तिक २२ । दैलेखको एक व्यक्तिले छिमेकीको घरमा पसेर हँसिया प्रहार गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्।

ठाँटीकाँध गाउँपालिका–४ धनकोटका ३७ वर्षीय बमबहादुर रावतले आइतबार बिहान करिब ५ बजेतिर छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पसेर परिवारका सदस्यमाथि अन्धाधुन्ध हँसिया प्रहार गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवनकुमार विकका अनुसार रावतको आक्रमणबाट चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बिमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन, छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर घाइते हुनुभएको छ ।

यस्तै, सुत्केरी तिलाकी ३ महिनाकी नाबालिका छोरी जानकी रोक्का मगरसमेत हँसिया प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार घाइतेमध्ये तिला, बिमा र महेसराको अवस्था गम्भीर छ। अन्य घाइतेहरूको टाउको, अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

घाइते सबैको सुरुमा ठाँटीकाँध–१ स्थित लकान्द्र स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ठाँटीकाँध गाउँपालिकाको पहल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा दिउँसो १ बजे हेलिकोप्टरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ।

एकाबिहानै घरमा पसेर सुत्केरी तथा नाबालिकासहित महिलाहरूमाथि आक्रमण गर्ने रावतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। आक्रमणको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।