जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार १६:२०

उज्यालो पर्व तिहारले खुसीको बहार ल्याओस्


गणेश बस्नेत

झिलिमिली बत्तीले घरआँगन सजाउँदै,
फूलमाला र सप्तरङ्गी टीका लगाउँदै !
खुसीका दीपहरू मनमनमा बालौँ,
तिहारको उज्यालोले अँध्यारो सबै हटाऔँ ! !

कागको सन्देशमा शुभ समाचार आओस्,
कुकुरको निष्ठाले प्रेमको पाठ सिकाओस् !
गाईको पूजाले घरघरमा समृद्धि छाओस्,
सबैको जीवनमा लक्ष्मीको आगमन होस् ! !

देउसी र भैलोको मधुर स्वर गुञ्जियोस्,
दाजुभाइ, दिदीबहिनीको माया अझै बढोस् !
सप्तरङ्गी टीकाले सम्बन्ध सुमधुर बनाओस्,
मखमली र सयपत्रीले जीवन सुवासित बनाओस् ! !

नहोस् कसैको आँखामा आँसु र पीडा,
नहोस् कसैको जीवनमा अभाव र विडम्बना !
शान्ति, समृद्धि र सद्भावको दीप जलोस्,
हरेक नेपालीको मुहारमा मुस्कान फुलोस् !

हिमाल, पहाड, तराई एउटै मालामा गाँसिऊन्,
जाति, भाषा, धर्मभन्दा माथि मानवता हाँसून् !
विदेशिएका नेपालीको मनमा स्वदेशको माया रहोस्,
देशको उन्नति र समृद्धिको नयाँ बिहानी छाओस् ! !

आओस् तिहारले नयाँ उमङ्ग र उत्साह,
सबैका सपनाले पाऊन् सफलताको बाटो र राह !
दीपावलीको प्रकाशले संसार नै उज्यालो बनाओस्,
हरेक नेपालीको जीवनमा सुख र शान्ति छाओस् ! !

अन्त्यमा यही छ पवित्र चाडको शुभकामना,
सबै नेपालीजनमा प्रेम, सद्भाव र सद्भावना !
उज्यालो पर्व तिहारले खुसीको बहार ल्याओस्,
सम्पूर्ण नेपालीको जीवन सुखमय बनाओस् ! !

(मिति २०८३ कात्तिक २२)