जनता टाइम्स

२३ कार्तिक २०८३, सोमबार १५:०३

बिचौलिया लगाएर कांग्रेस र नेताहरूलाई बदनाम गराउन खोजियाे : विश्वप्रकाश शर्मा 


काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारले बिचौलियाहरूको प्रयोग गरेर नेपाली कांग्रेस पार्टी र नेताहरूलाई बदनाम गराउन खोजेको आरोप लगाउनुभएको छ ।

सोमबार नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाइ तथा बृहत् रक्तदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले कुनै बिचौलियाले लगाएको आरोपकै आधारमा पार्टी र नेताहरूको प्रतिष्ठामाथि प्रश्न उठाउनु उचित नभएको बताउनुभयो । ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे, त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’ भन्दै उहाँले त्यस्ता आरोपको विश्वसनीयता र प्रमाणमाथि प्रश्न उठाउनुभयो ।

वरिष्ठ उपसभापति शर्माले नेपाली कांग्रेसका सभापति गगन थापा र आफूले राजनीतिक जीवनमा निर्वाह गरेको जिम्मेवारीको प्रसङ्ग उल्लेख गर्दै करोडौँ रुपैयाँ बुझाएर पार्टी कब्जा गरेको भन्ने आरोपको आधार के हो भन्ने प्रश्न गर्नुभयो । उहाँले लामो समयसम्म पटक–पटक सत्तामा रहेर जिम्मेवारी सम्हालेका नेताहरूतर्फ सङ्केत गर्दै यदि रकम बुझाएर पार्टी किन्न सकिने अवस्था हुन्थ्यो भने त्यसको क्षमता पहिले सत्तामा रहेका नेताहरूसँग बढी हुन सक्ने तर्क गर्नुभयो ।‘वर्षौँसम्म पटक–पटक सत्तामा बसेका नेताहरू त उतै हुनुहुन्थ्यो त, उहाँहरूले बुझाउन सक्ने होइन ?’ उहाँले प्रश्न गर्नुभयो ।

शर्माले कुनै अभियोगमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई कानुनी प्रमाणका रूपमा स्वीकार गर्न नमिल्ने धारणा पनि राख्नुभयो । बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिएको अवस्थामा त्यसैका आधारमा अदालत र कानुनले दोषी ठहर गर्छ कि गर्दैन भन्ने उदाहरण प्रस्तुत गर्दै उहाँले आरोप पुष्टि गर्न प्रमाण आवश्यक पर्ने बताउनुभयो ।

यसैबीच, उहाँले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा १५औँ महाधिवेशन पार्टीको विधि, विधान, प्रक्रिया र संविधानअनुसार इमानदारितापूर्वक सम्पन्न भएको दाबी गर्नुभयो ।

राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिका कारण पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले महाधिवेशनका सम्पूर्ण प्रक्रिया निर्धारित विधि र विधानअनुसार पूरा गरिएको बताउनुभयो । ‘ढुक्क मान्नुहोला, नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टीको विधि, विधान, प्रक्रिया, संविधान सबै कुराबमोजिम इमानदारितापूर्वक सबै काम भएको छ,’ उहाँले भन्नुभयो ।

शर्माले नेपाली कांग्रेसले एउटा स्पष्ट सपना र उद्देश्य बोकेर गगन थापालाई सभापति बनाउँदै नयाँ यात्राको सुरुवात गरेको बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई कुनै पनि प्रकारको कमजोर मानसिकता नराखी आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

पार्टीभित्रको नयाँ नेतृत्व र राजनीतिक यात्रालाई लिएर अनावश्यक आशङ्का नराख्न आग्रह गर्दै उहाँले कांग्रेसलाई नयाँ सोच, ऊर्जा र सङ्कल्पका साथ अघि बढाउने अभियानमा सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।