जनता टाइम्स

२३ कार्तिक २०८३, सोमबार १९:०६

एनपिएल : लगातार चार हारपछि पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स ६३ रनले पराजित


काठमाडौं, कात्तिक २३। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लगातार चार खेलको हारको शृङ्खला तोड्दै पहिलो जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २१७ रनको विशाल योगफल तयार पारेको थियो। पोखराको उच्च स्कोर निर्माणमा युवराज सामराले उत्कृष्ट प्रदर्शन गर्दै शतकीय पारी खेले।

उनले मात्र ४८ बलको सामना गर्दै १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए। त्यस्तै, कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रनको योगदान दिए।

यसैगरी, चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै ११ बलमा अविजित ३५ रन जोडेपछि पोखराले कर्णालीसामु २१८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो।

२१८ रनको लक्ष्य पछ्याएको कर्णाली याक्स भने पोखराको बलिङसामु निरीह देखियो। निर्धारित २० ओभरमा लक्ष्य भेट्टाउन असफल भएपछि कर्णालीले ६३ रनको हार व्यहोर्नुपर्‍यो।

पोखराको जितमा मेहेदी हसनले सर्वाधिक तीन विकेट लिए भने सोमपाल कामीले दुई विकेट हात पारे। उनीहरूको प्रभावकारी बलिङका कारण कर्णालीका ब्याटरले लक्ष्य पछ्याउन सकेनन्।

यसअघि प्रतियोगितामा पोखरा एभेन्जर्सको सुरुआत निराशाजनक रहेको थियो। टोलीले सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र चितवन राइनोजसँग लगातार चार खेलमा पराजय बेहोरेको थियो।

पाँचौँ खेलमा आएर कर्णाली याक्सलाई हराएसँगै पोखराले प्रतियोगितामा पहिलो जितको खाता खोलेको छ। यो जितले लगातार हारको दबाबमा रहेको पोखरालाई आगामी खेलका लागि मनोबलसमेत प्रदान गरेको छ।