जनता टाइम्स

२३ कार्तिक २०८३, सोमबार १६:३३

अमेरिकी निर्वाचनमा किन हार्यो रिपब्लिकन पार्टी ? के छ राष्ट्रपति ट्रम्पको निष्कर्ष ?


महँगी, इरान युद्ध, आप्रवासन नीति र ट्रम्पप्रतिको असन्तुष्टिले चुनावमा रिपब्लिकनलाई धक्का लागेको छ भने आफ्नै पार्टीभित्र नेतृत्व र चुनावी रणनीतिमाथि बहस सुरु भएको छ

वासिङ्टन (अमेरिका), कात्तिक २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको सन् २०२६ को मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अप्रत्याशित पराजय बेहोरेको छ । नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेपछि अमेरिकी राजनीतिमा शक्ति सन्तुलन नै फेरिएको छ ।

निर्वाचनमा रिपब्लिकन पार्टीले केही वर्षअघिसम्म आफ्नो बलियो आधार मानिएका टेक्सास, आयोवा, कन्सास र साउथ क्यारोलिनाजस्ता राज्यमा समेत धक्का बेहोरेको छ । प्रतिनिधिसभामा ४० भन्दा बढी सिट गुमाएको र सिनेटमा कम्तीमा सात सिट गुमाएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन् ।

मध्यावधि निर्वाचनको यस परिणामलाई सामान्य चुनावी हारका रूपमा मात्र हेर्न मिल्दैन । यसले ट्रम्प प्रशासनका आर्थिक नीति, विदेश नीति, आप्रवासनसम्बन्धी कठोर कदम, राष्ट्रपतिको कार्यशैली र रिपब्लिकन पार्टीको चुनावी रणनीतिमाथि गम्भीर प्रश्न उठाएको छ ।

एसोसिएटेड प्रेस (एपी) ले नोभेम्बर ४ मा प्रकाशित गरेको मतदाता सर्वेक्षणले रिपब्लिकन पार्टीको पराजयका पछाडि महँगी, ट्रम्पका नीतिप्रतिको असन्तुष्टि, भ्रष्टाचारसम्बन्धी चिन्ता र कमजोर उम्मेदवार छनोट प्रमुख कारण रहेको देखाएको छ ।

त्यस्तै, ब्रुकिङ्स इन्स्टिच्युसनका राजनीतिक विश्लेषक एलेन कामार्क र विलियम गाल्स्टनले नोभेम्बर ६ मा प्रकाशित विश्लेषणमा रिपब्लिकनका असन्तुष्ट मतदाता मतदानबाट टाढिएको र डेमोक्रेटिक समर्थक बढी उत्साहका साथ मतदानमा सहभागी भएको निष्कर्ष निकालेका छन् ।

महँगी र आर्थिक संकट : मतदाताको सबैभन्दा ठूलो असन्तुष्टि

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले अमेरिकी जनतासमक्ष गर्नुभएको प्रमुख प्रतिबद्धतामध्ये महँगी नियन्त्रण, रोजगारी वृद्धि र अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने विषय प्रमुख थिए ।

तर उहाँको दोस्रो कार्यकालको सुरुवातपछि पनि खाद्यान्न, पेट्रोलियम पदार्थ, स्वास्थ्य सेवा, घरभाडा र दैनिक उपभोग्य वस्तुको मूल्यले सर्वसाधारणलाई दबाबमा राख्यो ।

एपीको मतदाता सर्वेक्षणअनुसार करिब ६० प्रतिशत मतदाता खाद्यान्न, स्वास्थ्य सेवा र पेट्रोलजस्ता दैनिक खर्चप्रति अत्यन्त चिन्तित थिए । त्यस्तै, दुईतिहाइ मतदाताले ट्रम्प प्रशासनका नीतिले अर्थतन्त्रलाई थप खराब बनाएको धारणा व्यक्त गरेका थिए । तीमध्ये करिब ८० प्रतिशतले डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गरेका थिए ।

विशेषगरी ट्रम्प प्रशासनले लागू गरेको आयात शुल्क (ट्यारिफ) ले वस्तुको मूल्य बढाएको र इरान युद्धका कारण पेट्रोलियम पदार्थ महँगिएको आरोप विपक्षी दलले लगाएका थिए ।

राष्ट्रपति ट्रम्पले आर्थिक समस्याका लागि पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनलाई जिम्मेवार ठहर गर्दै आउनुभएको थियो । तर मतदाताले आफ्नो दैनिक जीवनमा अनुभव गरेको मूल्यवृद्धिको जिम्मेवारी वर्तमान सरकारमाथि राखेको सर्वेक्षणले देखाएको छ । यसरी आर्थिक सुधारको चुनावी प्रतिबद्धता र जनताले अनुभव गरेको आर्थिक अवस्थाबीचको अन्तर रिपब्लिकन पार्टीको पराजयको प्रमुख कारण बनेको विश्लेषण गरिएको छ ।

इरान युद्ध : चुनावी परिणामलाई प्रभावित गर्ने विदेश नीति

रिपब्लिकन पार्टीको पराजयमा इरानसँगको युद्धले पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । राष्ट्रपति ट्रम्पले युद्ध सुरु गर्दा राष्ट्रिय सुरक्षाको आवश्यकताका रूपमा आफ्नो निर्णयको बचाउ गर्नुभएको थियो । तर युद्ध लम्बिँदै जाँदा त्यसको आर्थिक लागत र इन्धनको मूल्यवृद्धि अमेरिकी मतदाताको असन्तुष्टिको विषय बन्यो ।

युद्धका कारण पेट्रोल र डिजेलको मूल्य बढ्दा अमेरिकी नागरिकको यातायात, ढुवानी तथा दैनिक उपभोगको खर्चसमेत प्रभावित भएको थियो ।

नोभेम्बर ४ मा रोयटर्ससँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले इरान युद्ध रिपब्लिकन पार्टीको पराजयको एउटा कारण भएको स्वीकार गर्नुभएको थियो । उहाँले फक्स न्युजसँगको अन्तर्वार्तामा पनि युद्धले चुनावी परिणाममा प्रभाव पारेको बताउनुभएको थियो । तर आफ्नो सैन्य निर्णय गलत नभएको उहाँको दाबी थियो ।

द वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा उहाँले भन्नुभएको थियो, ‘मैले सही काम गरेको छु । फेरि त्यही परिस्थिति आए पनि म त्यही निर्णय गर्नेछु ।’

यसबाट ट्रम्पले युद्धको राजनीतिक मूल्य स्वीकार गरे पनि आफ्नो विदेश नीतिसम्बन्धी निर्णयको बचाउ गर्नुभएको स्पष्ट हुन्छ ।

ट्रम्पको आप्रवासन नीति : आफ्नै समर्थकबीच पनि असन्तुष्टि

ट्रम्पको दोस्रो कार्यकालको अर्को प्रमुख एजेन्डा अवैध आप्रवासन नियन्त्रण थियो । उहाँले सीमा सुरक्षा कडा बनाउने, अवैध आप्रवासीलाई देशनिकाला गर्ने र अमेरिकी नागरिकका लागि रोजगारी सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तर आप्रवासन नियन्त्रणका क्रममा अपनाइएको कठोर शैली, पक्राउ अभियान र देशनिकालासम्बन्धी विवादले सरकारमाथिको आलोचना बढायो ।

ब्रुकिङ्स इन्स्टिच्युसनको विश्लेषणले आप्रवासन नियन्त्रणका क्रममा सरकारले अपनाएका कठोर कदम पनि मतदाताको असन्तुष्टिको एउटा कारण बनेको उल्लेख गरेको छ ।

नोभेम्बर ८ मा प्रसारित सीबीएसको ‘६० मिनेट्स’ अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफ्नो आप्रवासन नियन्त्रण अभियान केही अवस्थामा ‘अत्यधिक कठोर’ भएको स्वीकार गर्नुभएको थियो । उहाँले आर्थिक उपलब्धिबारे सरकारको सन्देश प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउन नसकिएको पनि बताउनुभएको थियो ।

निर्वाचनपछि आएको यो अभिव्यक्तिलाई ट्रम्प प्रशासनले आफ्ना नीतिको कार्यान्वयन र सार्वजनिक सञ्चार रणनीतिबारे पुनरावलोकन गर्नुपर्ने आवश्यकता महसुस गरेको संकेतका रूपमा हेरिएको छ ।

भ्रष्टाचार र व्यक्तिगत स्वार्थको आरोप

एपीको मतदाता सर्वेक्षणले भ्रष्टाचारसम्बन्धी चिन्तालाई पनि रिपब्लिकन पार्टीको पराजयको एउटा प्रमुख कारणका रूपमा प्रस्तुत गरेको छ ।

सर्वेक्षणमा आधाभन्दा बढी मतदाताले सरकारी भ्रष्टाचारलाई आफ्नो मतदान निर्णयमा अत्यन्त महत्त्वपूर्ण विषय मानेका थिए ।राष्ट्रपति ट्रम्पका व्यक्तिगत व्यावसायिक गतिविधि, क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार, परिवारका व्यावसायिक गतिविधि तथा ह्वाइट हाउसको निर्माण योजनामा ठूला कम्पनीबाट आर्थिक सहयोग लिइएको विषयले पनि सार्वजनिक बहस सिर्जना गरेको थियो ।

सर्वेक्षणमा करिब दुईतिहाइ मतदाताले ट्रम्पका प्राथमिकता गलत रहेको धारणा व्यक्त गरेका थिए । यस्ता मतदातामध्ये ठूलो बहुमतले डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गरेको थियो । यसले अमेरिकी मतदाताले आर्थिक उपलब्धिसँगै राष्ट्रपतिको नैतिकता, पारदर्शिता र जवाफदेहितालाई पनि महत्त्व दिएको देखाउँछ ।

उम्मेदवार छनोटमा ट्रम्पको व्यक्तिगत प्रभाव

रिपब्लिकन पार्टीको अर्को कमजोरी उम्मेदवार छनोटमा देखिएको थियो । ट्रम्पले आफ्नो राजनीतिक निष्ठालाई उम्मेदवार छनोटको महत्त्वपूर्ण आधार बनाएको भन्दै पार्टीभित्र र बाहिर आलोचना हुँदै आएको थियो । उहाँले समर्थन गरेका केही उम्मेदवारको राजनीतिक अनुभव, सार्वजनिक छवि र व्यक्तिगत विश्वसनीयतामाथि प्रश्न उठेका थिए ।

टेक्सासमा रिपब्लिकन सिनेट उम्मेदवार केन प्याक्सटनको राजनीतिक विवाद तथा अन्य राज्यका केही उम्मेदवारको सार्वजनिक छविसम्बन्धी प्रश्नले पार्टीलाई अप्ठ्यारो पारेको थियो ।

नर्थ क्यारोलिनामा रिपब्लिकन उम्मेदवार माइकल ह्वाट्लीलाई ट्रम्पको अत्यधिक निकट समर्थकका रूपमा हेरिएको थियो ।एपीको सर्वेक्षणले उम्मेदवारको व्यक्तिगत योग्यता र चरित्रलाई महत्त्व दिने मतदाताको एउटा हिस्साले डेमोक्रेटिक उम्मेदवारलाई रोजेको देखाएको छ ।

यसले ट्रम्पको समर्थनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवारलाई फाइदा पु¥याए पनि आम निर्वाचनमा मतदाताको विश्वास जित्न सधैँ पर्याप्त नहुने देखाएको छ ।

युवा र अल्पसंख्यक मतदाताको समर्थन गुम्नु

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले युवा, हिस्पानिक तथा अश्वेत मतदाताको एउटा हिस्साबाट उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो । तर सन् २०२६ को मध्यावधि निर्वाचनमा ती समूहमा रिपब्लिकन पार्टीको समर्थन घटेको देखिएको छ ।

एपीको निर्वाचन विश्लेषणले विशेषगरी युवा मतदातामाझ रिपब्लिकनको समर्थन कमजोर भएको तथा हिस्पानिक र अश्वेत पुरुष मतदाताको एउटा हिस्साले पार्टीबाट दूरी बनाएको देखाएको छ । यसले विभिन्न जातीय तथा आर्थिक पृष्ठभूमिका मतदातालाई समेटेर निर्माण गर्न खोजिएको ट्रम्पको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको संकेत गरेको छ ।

अर्कोतर्फ, डेमोक्रेटिक पार्टीले महँगी, रोजगारी, स्वास्थ्य सेवा र आर्थिक असमानताका विषयलाई चुनावी अभियानको केन्द्रमा राखेको थियो । यसरी सांस्कृतिक तथा वैचारिक मुद्दाभन्दा दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आर्थिक विषय मतदाताका लागि बढी महत्त्वपूर्ण बनेको देखिन्छ ।

रिपब्लिकन समर्थक मतदानबाटै टाढिए

ब्रुकिङ्स इन्स्टिच्युसनको विश्लेषणले रिपब्लिकन पार्टीको पराजयको एउटा महत्त्वपूर्ण कारण पार्टीका असन्तुष्ट मतदाता मतदानमा सहभागी नहुनुलाई मानेको छ । यसको अर्थ सबै असन्तुष्ट रिपब्लिकन मतदाताले डेमोक्रेटिक पार्टीलाई मत दिएका थिए भन्ने होइन ।

ट्रम्पको कार्यशैली, आर्थिक अवस्था र उम्मेदवार छनोटप्रति असन्तुष्ट रिपब्लिकन समर्थकमध्ये केही मतदानबाटै टाढिएका थिए । अर्कोतर्फ, डेमोक्रेटिक समर्थकमा चुनावप्रतिको उत्साह र सहभागिता बढेको थियो । मतदाता सहभागितामा देखिएको यही अन्तरले पनि निर्वाचन परिणाम प्रभावित गरेको विश्लेषण गरिएको छ ।

ट्रम्पले पराजयबाट के निष्कर्ष निकाल्नुभयो ?

निर्वाचन परिणाम सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले विभिन्न सञ्चारमाध्यमसँगको अन्तर्वार्ता र सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको पराजयबारे धारणा सार्वजनिक गर्नुभएको छ ।

उहाँका प्रतिक्रियामा मुख्यतः तीनवटा पक्ष देखिन्छन् ।

पहिलो, इरान युद्ध र महँगीको असर स्वीकार

ट्रम्पले इरान युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसले रिपब्लिकन उम्मेदवारलाई चुनावमा असर पारेको स्वीकार गर्नुभएको थियो ।

उपराष्ट्रपति जेडी भान्सले पनि रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धको भूमिका रहेको बताउनुभएको थियो । सीबीएस न्युजका अनुसार उहाँले युद्धको राजनीतिक मूल्यबारे पार्टीभित्र गम्भीर र इमानदार बहस हुनुपर्ने धारणा राख्नुभएको थियो । तर राष्ट्रपति ट्रम्पले युद्ध आवश्यक भएको र फेरि त्यस्तै परिस्थिति आएमा आफूले त्यही निर्णय गर्ने स्पष्ट पार्नुभएको थियो ।

दोस्रो, आफू मतपत्रमा नभएकाले पार्टी पराजित भएको दाबी

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको थियो, ‘म मतपत्रमा थिइनँ । यदि म भएको भए हामी ठूलो अन्तरले जित्ने थियौँ ।’ नोभेम्बर ८ मा प्रसारित सीबीएसको ‘६० मिनेट्स’ अन्तर्वार्तामा पनि उहाँले रिपब्लिकन पार्टीको पराजयको एउटा कारण आफू उम्मेदवारका रूपमा मतपत्रमा नहुनु भएको तर्क दोहो¥याउनुभएको थियो ।

आफ्ना चुनावी सभाले उम्मेदवारलाई सहयोग गरेको दाबी गर्दै उहाँले कतिपय समर्थक मतदानमा सहभागी नभएको र केहीले उम्मेदवार मन नपराएको बताउनुभएको थियो । तर यो ट्रम्पको आफ्नै राजनीतिक व्याख्या हो । एपीको मतदाता सर्वेक्षणले भने महँगी, भ्रष्टाचार, नीतिगत असन्तुष्टि र कमजोर उम्मेदवार छनोटलाई पराजयका व्यापक कारणका रूपमा देखाएको छ ।

तेस्रो, आप्रवासन नीतिमा केही कमजोरी स्वीकार।

सीबीएससँगको नोभेम्बर ८ को अन्तर्वार्तामा ट्रम्पले आप्रवासन नियन्त्रण अभियान कतिपय अवस्थामा आवश्यकताभन्दा बढी कठोर भएको स्वीकार गर्नुभएको थियो ।

उहाँले आर्थिक उपलब्धिबारे सरकारको सन्देश प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउन नसकिएको पनि बताउनुभएको थियो । यसले निर्वाचनपछि ट्रम्प प्रशासनले आफ्ना केही नीतिको कार्यान्वयन र सञ्चार रणनीतिबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस गरेको संकेत गर्छ ।

रिपब्लिकन पार्टीभित्रै सुरु भयो नेतृत्व र रणनीतिको बहस

निर्वाचनमा पराजयपछि रिपब्लिकन पार्टीभित्र कसको कमजोरीका कारण यस्तो परिणाम आयो भन्ने बहस सुरु भएको छ । रोयटर्सले नोभेम्बर ८ मा प्रकाशित गरेको विश्लेषणमा ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) आन्दोलनभित्रै नेतृत्व र राजनीतिक दिशाबारे प्रश्न उठ्न थालेको उल्लेख गरेको छ ।

केही मागा समर्थकले ट्रम्पको नेतृत्वशैलीलाई चुनावी चुनौतीका रूपमा हेर्न थालेका छन् भने केहीले उहाँका सल्लाहकार र रिपब्लिकन पार्टीका नेताहरूलाई दोष दिएका छन् । यसले पार्टीभित्र सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै नेतृत्व, रणनीति र राजनीतिक दिशाबारे बहस चर्किन सक्ने संकेत गरेको छ ।

यसैबीच, निर्वाचनपछि ह्वाइट हाउसका प्रमुख कर्मचारी सुसी वाइल्सको बहिर्गमन र उहाँको स्थानमा स्टेफन मिलरलाई ल्याउने घोषणाले पनि प्रशासनभित्रको नेतृत्व तथा नीतिगत प्राथमिकताबारे नयाँ चर्चा सुरु गरेको छ । मिलर आप्रवासन नियन्त्रणका कठोर नीतिका पक्षधरका रूपमा परिचित हुनुहुन्छ ।

यसलाई ट्रम्पले आफ्नो प्रशासनको राजनीतिक आधार पुनः व्यवस्थित गर्न खोजेको कदमका रूपमा पनि व्याख्या गरिएको छ ।

ट्रम्पका चुनौती कस्ता छन् ?

डेमोक्रेटिक पार्टीले दुवै सदनमा बहुमत प्राप्त गरेपछि ट्रम्प प्रशासनको आगामी दुई वर्षको कार्यकाल थप चुनौतीपूर्ण बन्ने देखिन्छ ।

कांग्रेसमा डेमोक्रेटिक नियन्त्रण भएपछि सरकारका नीति, बजेट, नियुक्ति र प्रशासनिक निर्णयमाथि संसदीय निगरानी बढ्न सक्छ । राष्ट्रपतिले अघि सार्ने कतिपय विधेयक पारित गराउन कठिन हुनेछ । सरकारी निर्णयमाथिको अनुसन्धान, संसदीय सुनुवाइ र प्रशासनिक जवाफदेहितासम्बन्धी प्रश्न पनि तीव्र बन्न सक्छन् ।

ट्रम्पले डेमोक्रेटिक पार्टीसँग केही विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । तर आफूलाई मन नपर्ने विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनी पनि दिनुभएको छ । यसले आगामी दिनमा सहकार्य र राजनीतिक टकराव दुवै सम्भावना कायम रहेको देखाउँछ ।

ट्रम्पको राजनीतिक प्रभावमाथि प्रश्न, तर अन्तिम फैसला होइन

सन् २०२६ को मध्यावधि निर्वाचनले ट्रम्पको राजनीतिक नेतृत्व र रिपब्लिकन पार्टीको चुनावी रणनीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ । महँगी नियन्त्रण गर्न नसक्नु, इरान युद्धको आर्थिक असर, आप्रवासन नीतिको कठोरता, भ्रष्टाचारसम्बन्धी चिन्ता र उम्मेदवार छनोटमा व्यक्तिगत निष्ठालाई प्राथमिकता दिनुले पार्टीलाई चुनावी क्षति पु¥याएको विश्लेषण गरिएको छ ।

ट्रम्पले इरान युद्ध र महँगीको असर स्वीकार गर्नुभएको भए पनि आफ्नो मूल नीतिगत निर्णयको बचाउ गरिरहनुभएको छ । उहाँले पार्टीको पराजयलाई आफ्नो व्यक्तिगत असफलताका रूपमा स्वीकार गर्नुभएको छैन । बरु उम्मेदवारको कमजोरी, मतदानमा कम सहभागिता र आफू मतपत्रमा नहुनुलाई समेत पराजयका कारणका रूपमा प्रस्तुत गर्नुभएको छ । तर निर्वाचन परिणामले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ, ‘राष्ट्रपतीय लोकप्रियता र पार्टीको चुनावी सफलता एउटै कुरा होइनन् ।’

अब ट्रम्पका लागि चुनौती केवल डेमोक्रेटिक नियन्त्रणमा रहेको कांग्रेससँग काम गर्नु मात्र होइन, आफ्नै पार्टीभित्र कमजोर हुँदै गएको चुनावी आधारलाई कसरी पुनः स्थापित गर्ने भन्ने पनि हो । यद्यपि, मध्यावधि निर्वाचनको परिणामले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनको नतिजा निश्चित गर्दैन । डेमोक्रेटिक पार्टीले प्राप्त गरेको विजयलाई उसका सबै नीतिप्रतिको जनसमर्थनका रूपमा पनि बुझ्न मिल्दैन ।

तर सन् २०२६ को निर्वाचनले अमेरिकी मतदाताले ट्रम्प प्रशासनसँग आर्थिक अवस्था, युद्ध, आप्रवासन र शासन सञ्चालनका विषयमा जवाफ मागिरहेको स्पष्ट संकेत दिएको छ । आगामी दिनमा ती प्रश्नको जवाफ ट्रम्प प्रशासनले कसरी दिन्छ, त्यसले अमेरिकी राजनीतिमा रिपब्लिकन पार्टीको भविष्यको दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।