काठमाडौं, कात्तिक २४ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा भएको बताउनुभएको छ ।
मंगलबार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल संवत्को ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व नेपाल मण्डलको जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको बताउनुभयो । ‘यसको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाःको लोककल्याणकारी योगदानसँग जोडिएको छ । ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको महान् सन्देश दिएको छ,’ उहाँले भन्नुभयो ।
शंखधर साख्वाःको योगदान कुनै एक समुदायमा मात्र सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ ।’
नेपाल संवत् कुनै एक जाति वा भाषाविशेषको मात्र नभई समग्र नेपालीको साझा पहिचान भएको उहाँले बताउनुभयो । ‘नेपाल संवत् कुनै एक जाति वा भाषा विशेषको मात्र नभई नेपालीको साझा पहिचान दिने संवत् हो,’ उहाँले भन्नुभयो ।
नेपाल संवत् नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण अध्यायसमेत भएको उल्लेख गर्दै सभामुख अर्यालले विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस आन्दोलनले महत्वपूर्ण आवाज उठाएको बताउनुभयो ।
उहाँले नेपाल संवत् आन्दोलनलाई अगाडि बढाउन योगदान पुर्याउने अग्रज तथा अभियन्ताहरूको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । ‘शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्वपूर्ण उपलब्धि हुन् । अब यी उपलब्धिहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो ।
नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै सभामुख अर्यालले नेपाल भाषा, नेपाल लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
नेपाल संवतकाे संरक्षणलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा यसको प्रयोग विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । ‘यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल संवतकाे प्रयोग विस्तार गर्न सकेमात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुनेछ,’ उहाँले भन्नुभयो ।
उहाँले मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणका लागि सबैलाई एकजुट हुनसमेत आह्वान गर्नुभयो । ‘हाम्रो मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा हामी सबै एकजुट भएर अगाडि बढौँ,’ उहाँले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्