जनता टाइम्स

२४ कार्तिक २०८३, मंगलबार १४:०४

मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् : केपी ओली 


काठमाडौं, कात्तिक २४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४७ को आरम्भसँगै म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल संवतकाे नयाँ वर्षले सबैमा सुख, समृद्धि र सद्भावको सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो सन्देशमा लेख्नुभएको छ, “आज तिहारको चौथो दिन, आजबाट नै नेपाल संवत् ११४७ आरम्भ भएको छ। नेपाल संवत् ११४७ को हार्दिक शुभकामना!”

म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वमाथि प्रकाश पार्दै अध्यक्ष ओलीले यसले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिने उल्लेख गर्नुभएको छ। त्यस्तै, गोवर्द्धन पूजाले प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता अभिव्यक्त गर्ने तथा हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्ने उहाँको भनाइ छ।

उहाँले नेपाली समाजका मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यतासँग जोडिएका पर्वहरूको संरक्षण र निरन्तरतामा जोड दिँदै यस्ता पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप बलियो बनाउने सन्देश दिनुभएको छ। अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, “हाम्रा मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका यी अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून्।”

उहाँले अन्त्यमा म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारको शुभकामना व्यक्त गर्दै नेपाल भाषामा “न्हु दँया भिन्तुना !” अर्थात् नयाँ वर्षको शुभकामनासमेत दिनुभएको छ।