जनता टाइम्स

२४ कार्तिक २०८३, मंगलबार २०:३४

शंकर पोखरेलको प्रश्न : अर्थतन्त्र सुधार्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली व्यक्तिको सूचीमा पर्नु खुसी कि व्यङ्ग्य ?


काठमाडौं, कात्तिक २४ । मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको र आर्थिक सुधारको अपेक्षाअनुरूप परिणाम देखिन नसकेको अवस्थामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ का १०० प्रभावशाली जलवायु व्यक्तित्वको सूचीमा समेटिनुभएको विषयलाई लिएर राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अर्थमन्त्री वाग्लेको उक्त अन्तर्राष्ट्रिय पहिचानप्रति टिप्पणी गर्दै यसलाई नेपाली जनताका लागि खुसीको विषय मान्ने कि विडम्बनापूर्ण व्यङ्ग्यका रूपमा बुझ्ने भन्ने प्रश्न उठाउनुभएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, “अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको बेला सुधार गर्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा पर्नु नेपाली जनताका लागि खुसीको विषय हो कि विडम्बनापूर्ण व्यङ्ग्य-बुझ्न कठिन भएको छ ।”

 अमेरिकी पत्रिका ‘टाइम’ले अर्थमन्त्री डा. वाग्लेलाई सन् २०२६ का जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व (TIME 100 Climate) को सूचीमा समावेश गरेको हो । गत अगस्टमा नेपालमा आएको रसुवा–भोटेकोसी क्षेत्रको विनाशकारी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उहाँले गर्नुभएको पैरवी, जलवायु वित्त परिचालन तथा जलवायुजन्य विपद्बाट प्रभावित मुलुकको अधिकारका विषयमा उठाउनुभएको आवाजलाई उक्त पत्रिकाले महत्त्व दिएको छ ।

वाग्लेको नाम उक्त सूचीमा समावेश भएपछि उहाँ आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रेस विज्ञप्ति जारी गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ । रास्वपाले विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्येता, नीतिनिर्माता तथा राजनीतिक व्यक्तित्वका रूपमा वाग्लेले योगदान पुर्‍याउँदै आउनुभएको उल्लेख गरेको छ । विशेष गरी रसुवा–भोटेकोसी बाढीपछि जलवायु न्यायका लागि विश्वमञ्चमा गर्नुभएको पैरवी, जलवायु वित्त परिचालनका लागि लिनुभएको पहल तथा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका विषयमा देखाउनुभएको अग्रसरता नेपालको सन्दर्भमा उल्लेखनीय रहेको पार्टीको भनाइ छ ।

पार्टीले वाग्लेको नेतृत्वमा विपद्पछिको आवश्यकता आकलन, जलवायुजन्य क्षतिका विषयमा तथ्यमा आधारित पैरवी तथा प्रभावित नागरिकका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालनका प्रयास भएको जनाएको छ । रास्वपाले यस उपलब्धिलाई वाग्लेको व्यक्तिगत प्रयासको सम्मानका रूपमा मात्र नभई जलवायु सङ्कटको असमान असर भोगिरहेका नेपालजस्ता मुलुक र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षणका रूपमा समेत व्याख्या गरेको छ ।