काठमाडौं । नेवार समुदायले आफ्नो मौलिक सांस्कृतिक पहिचान र परम्परासँग जोडिएको म्हःपूजा विधिपूर्वक मनाएका छन् । नेपाल संवत्को नयाँ वर्षका अवसरमा मनाइने यस पर्वमा शरीर तथा अन्तरात्माको पूजा गरी आत्मशुद्धि, आत्मसम्मान र सकारात्मक जीवनको कामना गरिएको छ ।
नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर हो । त्यसैले म्हःपूजाको शाब्दिक अर्थ शरीरको पूजा भन्ने हुन्छ । यसलाई मानिसले आफ्नै शरीर र अन्तरात्माको सम्मान गर्दै आफूभित्रको नकारात्मकता हटाएर सकारात्मक ऊर्जा प्राप्त गर्ने पर्वका रूपमा लिइन्छ । आगामी दिनमा शुद्ध मनले काम गर्ने, कसैलाई हानि नपुर्याउने र सकारात्मक सोचका साथ जीवन अघि बढाउने सङ्कल्प गर्नु यसको मूल भावना मानिन्छ ।
म्हःपूजाका अवसरमा पूजा गर्ने व्यक्तिको आसनअगाडि मण्डल अर्थात् म्हःमण्डप तयार गरी विभिन्न पूजा सामग्री राख्ने परम्परा छ । मण्डलमा पानी र तेलका चक्र बनाउनुका साथै जीवनका विभिन्न अवस्था र पक्षको प्रतीकका रूपमा सामग्री सजाइन्छ । अन्धकार नाश र उज्यालोको प्रतीकका रूपमा लामो बत्ती बालेर पूजा गर्ने गरिन्छ ।
म्हःपूजा पूजामा शुद्ध चामल (आखे), कालो मास, भटमास, धान, लावा, फूललगायत सामग्री प्रयोग गरिन्छ । यी सामग्रीलाई मानिसको शरीर, जीवन र प्रकृतिसँग जोडेर व्याख्या गर्ने परम्परा छ ।
वर्षभरि जानेर वा नजानेर भएका गल्तीप्रति आत्मसमीक्षा गर्दै क्षमायाचना गर्ने, आगामी दिनमा कसैलाई हानि नपुर्याउने र शुद्ध मनले अघि बढ्ने सङ्कल्प नै म्हःपूजाको मूल सन्देश हो ।
नेपाल संवतकाे नयाँ वर्षसँगै मनाइने म्हःपूजा नेवार समुदायको विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व हो । राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गर्नुभएको ऐतिहासिक मान्यतासँग जोडिएको यस पर्वले आत्मसम्मान, आत्मशुद्धि र सकारात्मक जीवनको सन्देश प्रवाह गर्दै आएको छ ।














प्रतिक्रिया दिनुहोस्