जनता टाइम्स

२५ कार्तिक २०८३, बुधबार ०८:१८

आज भाइटीका, उत्तम साइत बिहान ११.०७ बजे 


काठमाडौं, कात्तिक २५ । नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ।

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिएर भाइटीका मनाउने परम्परा छ। धार्मिक मान्यताअनुसार यस पर्वलाई यमद्वितीया पनि भनिन्छ। 

भाइटीका लगाउन साइत खोज्नेका लागि आज बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ । समितिका अनुसार आज दिनभर नै टीका लगाउन सकिनेछ। यद्यपि राज्य सञ्चालकले भने शुभसाइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाइमाग्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ। ज्योतिषीय मान्यताअनुसार चन्द्रमालाई अगाडि वा दाहिने पारेर शुभकार्य गर्नुपर्ने धार्मिक विधान छ। आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने भएकाले उक्त दिशाअनुसार टीका लगाउन उपयुक्त हुने बताइएको छ।

भाइटीका नेपाली समाजमा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, पारस्परिक सम्मान, माया, विश्वास र जिम्मेवारीलाई प्रगाढ बनाउने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित छ। यसले परिवार र समाजमा आपसी एकता, सद्भाव तथा सहयोगको भावना अभिवृद्धि गर्नसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

धार्मिक किंवदन्तीअनुसार यमराज र उनकी बहिनी यमुनाबीचको प्रेम तथा स्नेहसँग भाइटीकाको सम्बन्ध जोडिएको छ। यमुनाले आफ्ना दाजु यमराजलाई घरमा निमन्त्रणा गरी टीका तथा पूजा गरेको र त्यसबाट प्रभावित यमराजले बहिनीको इच्छा पूरा गरेको धार्मिक विश्वास छ। यही मान्यताका आधारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र अकाल मृत्युबाट रक्षा होस् भन्ने कामनासहित टीका लगाउने परम्परा चलिआएको जनविश्वास छ।

दिदीबहिनीले टीका लगाउनुअघि लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्ने चलन छ। त्यसपछि अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलगायत देवताको स्मरण तथा पूजा आराधना गरिन्छ। साथै चित्रगुप्त, यमराज, यमुना र धर्मराजको पनि पूजा गरिन्छ।

परम्पराअनुसार दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्‍याउने गर्छन्। टीका लगाएपछि ओखर, कटुस, मरमसला, सेलरोटी तथा विभिन्न परिकार खुवाउने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार कपडा, दक्षिणा तथा उपहार प्रदान गरी सम्मान र स्नेह प्रकट गर्छन्।

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि धर्मशास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्।

दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि पनि भाइटीका पर्वले धार्मिक तथा सामाजिक महत्व बोकेको छ। यस अवसरमा काठमाडौँको रानीपोखरीको बीचमा रहेको ऐतिहासिक बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गरिन्छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिले पूजा, दर्शन तथा टीका ग्रहण गर्ने परम्परा छ।

यसैबीच, नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। समुदायको कुल परम्परा र स्थानीय चलनअनुसार कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने प्रचलन रहेको छ। भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेका छन्।

धार्मिक आस्था, पारिवारिक आत्मीयता र सांस्कृतिक पहिचानसँग जोडिएको भाइटीका पर्वले नेपाली समाजमा पुस्तौँदेखि चलिआएको परम्परा र सामाजिक एकतालाई निरन्तरता दिँदै आएको छ। आधुनिक जीवनशैली र सामाजिक परिवर्तनका बीच पनि यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाली मौलिक संस्कृति, संस्कार र सभ्यताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।