जनता टाइम्स

२५ कार्तिक २०८३, बुधबार ०९:२९

माैलिक कला, संस्कृति र पर्वलाई सामाजिक एकता र राष्ट्रिय सद्भाव अभिवृद्धिको माध्यम : मुख्यमन्त्री कार्की


विराटनगर, कात्तिक २५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् सांस्कृतिक तथा धार्मिक पर्व तिहारले आपसी प्रेम, सद्भाव, भाइचारा र पारिवारिक आत्मीयतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको अटुट स्नेह, विश्वास र सम्मानलाई जीवन्त राख्ने विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको छ । यस पर्वले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै सामाजिक एकता र सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्व उल्लेख गर्दै कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वलाई यमपञ्चकका रूपमा समेत चिनिने बताउनुभएको छ । पाँच दिनसम्म काग, कुकुर, गाई, गोरु तथा धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिनुका साथै गोवर्धन पूजा र म्हः पूजा गर्ने परम्परा रहेको उहाँले स्मरण गराउनुभएको छ ।

भाइटीकाका अवसरमा दिदीबहिनीहरूले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा माला लगाइदिने र सगुन दिने परम्परा रहेको उल्लेख गर्दै उहाँले दाजुभाइहरूले पनि दिदीबहिनीप्रति प्रेम, सम्मान र स्नेह प्रकट गर्दै उपहार आदानप्रदान गर्ने चलनले पारिवारिक आत्मीयतालाई थप बलियो बनाउने बताउनुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको नेपाली समाजमा तिहारजस्ता मौलिक पर्वहरूले विविधताबीचको एकता, आपसी भाइचारा र सहअस्तित्वको भावनालाई मजबुत बनाउने मुख्यमन्त्री कार्कीको धारणा छ ।

उहाँले हाम्रा मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्दै यस्ता पर्वलाई सामाजिक एकता र राष्ट्रिय सद्भाव अभिवृद्धिको माध्यम बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मुख्यमन्त्री कार्कीले प्रेम, सद्भाव, भाइचारा र उज्यालोको प्रतीक तिहारले सबै नेपालीबीच आपसी एकता, पारिवारिक आत्मीयता र सामाजिक सद्भाव अझ प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । “यस पर्वले हरेक नेपालीको जीवनमा नयाँ आशा, उत्साह, उमङ्ग र समृद्धिको उज्यालो छर्दै सुख, शान्ति, खुसी र सुस्वास्थ्य प्रदान गरोस्,” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।