काठमाडौं, कात्तिक २६ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । प्लेअफ यात्रालाई बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिने टोलीहरूका लागि आजका दुवै खेल महत्त्वपूर्ण हुनेछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
हालसम्म पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । चार अङ्कसहित विराटनगर अंक तालिकाको छैटौँ स्थानमा रहेको छ ।
यता पोखरा एभेन्जर्सको प्रदर्शन भने अपेक्षाकृत कमजोर देखिएको छ । पाँच खेलमध्ये एक खेलमा मात्र जित निकाल्न सकेको पोखराले चार खेलमा हार बेहोरेको छ । दुई अङ्कसहित पोखरा अंक तालिकाको पुछारमा रहेको छ । त्यसैले आजको खेल पोखराका लागि प्रतियोगितामा पुनरागमन गर्ने अवसरका रूपमा रहनेछ ।
यसैगरी आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुनेछन् ।
अंक तालिकामा कर्णाली सातौँ स्थानमा रहँदा लुम्बिनी भने तेस्रो स्थानमा रहेको छ । तुलनात्मक रूपमा राम्रो अवस्थामा रहेको लुम्बिनी आफ्नो स्थान थप मजबुत बनाउने लक्ष्यमा हुनेछ भने कर्णाली जित निकाल्दै अंक तालिकामा सुधार गर्ने प्रयासमा मैदान उत्रिनेछ ।
एनपीएलमा आज हुने दुवै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पार्ने भएकाले क्रिकेटप्रेमीको ध्यान कीर्तिपुर मैदानमा केन्द्रित रहनेछ ।














प्रतिक्रिया दिनुहोस्