काठमाडौं, कात्तिक २६ । चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज पनि एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ।
हिजो बिहान पौने ४ बजेदेखि पहिरोका कारण अवरुद्ध भएको सडक झण्डै चार घण्टापछि पौने ८ बजे एकतर्फी रूपमा खुलाइएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
घोप्टेभीरमा आइतबार, सोमबार र मंगलबार लगातार पहिरो खसेपछि तिहार मनाउन आवतजावत गर्ने यात्रु तथा सवारीसाधन समस्यामा परेका थिए। अस्ति दिउँसोदेखि सडक सञ्चालनमा आए पनि हिजो बिहान पुनः पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो।
मुग्लिन हुँदै संघीय राजधानी काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन र यात्रुका लागि घोप्टेभीरको पहिरो निरन्तर समस्या बन्दै आएको छ।
सडक एकतर्फी रूपमा सञ्चालनमा आए पनि पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्