काठमाडौं, कात्तिक २५ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका चुनाव चिह्न घण्टीलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक टिप्पणी गर्नुभएको छ ।
उहाँले हालका प्रधानमन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले मेयर निर्वाचनमा प्रयोग गर्नुभएको लौरो चुनाव चिह्न र त्यससँग जोडिएका समर्थकहरूको प्रसङ्ग उठाउँदै घण्टीलाई लौरो समर्थकहरूले स्वीकार नगर्ने दाबी गर्नुभएको छ ।प्रसाईँले फेसबुकमा लेख्नुभएको छ, “ढुक्क हुनुस्, घण्टीलाई लौरो बोक्नेहरुले स्वीकार्दैनन्, किनकि घण्टी लौरो टेक्ने हरुको होइन।”
उहाँको यो टिप्पणीले बालेन शाहलाई काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित गराउन लौरो चुनाव चिह्नमार्फत साथ दिएका समर्थकहरूले अहिले रास्वपाको घण्टीलाई स्वीकार नगर्ने आशय व्यक्त गरेको देखिन्छ । बालेनले २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चुनाव चिह्न लिएर काठमाडौं महानगरपालिकाको मेयरमा विजय हासिल गर्नुभएको थियो । अहिले उहाँ रास्वपाबाट प्रधानमन्त्री हुनुहुन्छ ।
प्रसाईँले आफ्नो अर्को टिप्पणीमा ज्वागलतिर झोलामा थन्किएर राखिएको लौरो छिट्टै बाहिर निस्कन लागेको संकेत गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “ढुक्क हुनुस्, ज्वागलतिर झोलामा थन्किएर बसेको लौरो छिट्टै टेकेर बाहिर निस्किँदै छन्।” ज्वागलमा बालेनका राइट हेण्ड र याेजनाकार कुमार बेनकाे घर छ । उहाँले रास्वपा र बालेन पक्षकाे टकरावलाई संकेत गर्नु भएकाे छ ।
यहाँ उहाँले उल्लेख गर्नुभएको लौरोले बालेन शाहसँग जोडिएको राजनीतिक समूह तथा उहाँलाई विगतमा साथ दिँदै आएका समर्थकहरूलाई संकेत गरेको बुझिन्छ । ज्वागलतिर थन्किएर बसेको लौरो छिट्टै बाहिर निस्कने अभिव्यक्तिमार्फत उहाँले बेन सहित ती समर्थकहरू पुनः छुट्टै राजनीतिक धारका रूपमा सक्रिय हुन सक्ने आशय व्यक्त गर्नुभएको देखिन्छ ।
त्यस्तै, प्रसाईँले पछिल्लो राजनीतिक अवस्थालाई मध्यावधि निर्वाचनसँग जोड्दै अर्को टिप्पणी गर्नुभएको छ । उहाँले प्रश्न गर्नुभएको छ, “ढुक्क हुनुस्, मध्यावधिको दुर्गन्धित संकेत देखिन थालेको छ ?”
आफ्ना सबै टिप्पणीमा ‘ढुक्क हुनुस्’ भन्ने शब्द दोहोर्याउनुभएका उहाँले अन्तिममा लेख्नुभएको छ, “ढुक्क सब्द उहाहरुकै हो !”














प्रतिक्रिया दिनुहोस्