जनता टाइम्स

२५ कार्तिक २०८३, बुधबार १३:४६

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका


काठमाडौं, कात्तिक २५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको भाइटीका आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएर मनाउनुभएको छ । उहाँले बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा भाइ डेगेन्द्रलाई सप्तरङ्गी टीका तथा माला लगाइदिनुभएको हो ।

भाइटीकाको शुभसाइतमा पूर्वराष्ट्रपति भण्डारीले भाइलाई टीका र माला लगाइदिँदै सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ ।

यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा माला लगाइदिने र सगुन प्रदान गर्ने परम्परा छ । दाजुभाइहरूले पनि दिदीबहिनीप्रति प्रेम, सम्मान र स्नेह प्रकट गर्दै उपहार तथा दक्षिणा दिने चलन रहिआएको छ ।

नेपाली समाजमा दिदीबहिनी र दाजुभाइबीचको प्रेम, स्नेह, विश्वास र आत्मीयतालाई थप प्रगाढ बनाउने विशेष पर्वका रूपमा भाइटीका मनाउने गरिन्छ ।

यस पर्वले पारिवारिक सम्बन्धलाई थप आत्मीय बनाउनुका साथै नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।