जनता टाइम्स

२५ कार्तिक २०८३, बुधबार १३:१९

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदाकाे हातबाट लगाए भाइटीका 


काठमाडौं, कात्तिक २५ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उहाँले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाउनुभएको हो ।

भाइटीकाको अवसरमा बहिनी शारदा पण्डितले राष्ट्रपति पौडेललाई सप्तरङ्गी टीका लगाइदिँदै ओखर, बदामलगायत फलफूल तथा विभिन्न उपहार प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले पनि बहिनी शारदालाई टीका लगाइदिनुका साथै उपहार र दक्षिणा प्रदान गर्नुभएको थियो । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह र आत्मीयताको प्रतीकका रूपमा मनाइने भाइटीका उहाँहरूले पारिवारिक आत्मीयताका साथ मनाउनुभएको हो ।

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार राष्ट्रपति पौडेलले निर्धारित शुभसाइतमै भाइटीका ग्रहण गर्नुभएको हो ।

तिहारको पाँचौँ तथा अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा रहिआएको छ ।