जनता टाइम्स

२६ कार्तिक २०८३, बिहिबार १३:३३

भीमफेदीमा इभी दुर्घटना : थप एक बालिकाको जीवितै उद्धार


हेटौँडा, कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको इभी दुर्घटनामा थप एक बालिकाको जीवितै उद्धार गरिएको छ ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भएको दुर्घटनामा ती बालिकालाई जीवितै उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्याम खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएका सबैको उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ । उद्धार गरिएका घाइतेमध्ये ती बालिकासहित ६ जना रहेका छन् ।

दुर्घटनामा घटनास्थलमै १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालबालिका रहेका छन् ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय हाइस सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो ।