काठमाडौं, कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा आज बिहान भएको दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालिका र पाँच पुरुष रहेका छन्। मृतकहरूको पहिचान खुल्न सकेको छैन। मृत्यु हुनेमध्ये अधिकांश सर्लाही जिल्लाका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा घाइते भएका पाँचजनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँचजना घाइते भएको जानकारी दिनुभएको छ।
दुर्घटनाको कारण र मृतकहरूको विस्तृत पहिचानबारे थप विवरण आउन बाँकी छ।














प्रतिक्रिया दिनुहोस्