जनता टाइम्स

२६ कार्तिक २०८३, बिहिबार १८:१३

मकवानपुर भीमफेदीको ईभी हाइस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, सबैको सनाखत


हेटौँडा, कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय हाइस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार मृतकमा पाँच जना महिला तथा बालबालिका र नौ जना पुरुष रहेका छन् ।  

दुर्घटनामा मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय हाइस चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १३ जना रहेका छन् ।

मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् ।

त्यस्तै, दुर्घटनामा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदिप यादव घाइते भएका छन् ।

घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो । हाइस सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो । दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।