जनता टाइम्स

२६ कार्तिक २०८३, बिहिबार १५:३३

नरेश भट्टजस्तो राक्षस श्रीमान् कुनै चेलीको नपरोस्


प्रेम, विश्वास र वैवाहिक सम्बन्धको आवरणभित्र लुकेको क्रूरताले एउटी नेपाली चेलीको जीवन मात्र खोसेन, एउटा परिवारको खुसी, सपना र भविष्यसमेत उजाडिदियो । एउटी आमाको काख र एउटा अबोध बालिकाको बाल्यकाल खोसियो । मानव सभ्यताकै कलङ्कका रूपमा रहने यो घटनाले मानवीय संवेदनाको सीमासमेत कति भयावह ढङ्गले भत्किन सक्छ भन्ने ऐना देखाएको छ

गणेश बस्नेत

कहिलेकाहीँ मान्छेको अनुहारमा देखिने सभ्यता र व्यवहारभित्र कति भयानक क्रूरता लुकेको हुन्छ भन्ने कुरा केही घटनाले संसारलाई नै स्तब्ध बनाउँछन् । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी चेली ममता काफ्ले भट्टको हत्या प्रकरण त्यस्तै एउटा हृदयविदारक घटना बनेको छ ।

जसलाई जीवनभर साथ दिने वाचा गरेर ममताले आफ्नो जीवनसाथी रोज्नुभएको थियो, त्यही व्यक्तिमाथि उहाँको हत्या गरेको अभियोग लाग्यो र अन्ततः अदालतले दोषी ठहर गर्यो । अझ अदालतमा सार्वजनिक भएका बयान, तस्बिर, भिडियो र अन्य प्रमाणले वैवाहिक सम्बन्धभित्र जीवित रहँदासम्म ममताले भोग्नुपरेको भनिएको पीडा, यातना र असुरक्षाको भयावह तस्बिर उजागर गर्यो ।

ममताका साथी, परिवार र अमेरिकामा रहेका नेपाली समुदायको निरन्तर चासो तथा न्यायका लागि भएको प्रयासबीच अन्ततः १० नोभेम्बर २०२६ (नेपाली समयअनुसार भाइटीकाको दिन अर्थात कात्तिक २५ (२०८३) सुरु भएपछि भर्जिनियाको अदालतमा बसेको जुरीले नरेश भट्टलाई प्रथम श्रेणीको हत्यासहित शव लुकाउने र शवको अपमान गर्ने कसुरमा दोषी ठहर गर्यो । तर विडम्बना, ममताको शव अहिलेसम्म फेला परेको छैन । यो तथ्यले परिवारको पीडालाई झन् असह्य बनाएको छ ।

आमाको आँसुमा छोरी हराएको पीडा मात्र थिएन, न्यायको चित्कार थियो

ममताकी आमा गीता काफ्ले अदालतमा उपस्थित हुँदा उहाँको मनमा कति पीडा थियो होला ? बयानका क्रममा देखिएको हृदयविदारक दृश्यले नै धेरै कुरा बताइसकेको छ । गीताले आफ्नी छोरी ममतासँग दिनहुँ बिहान–बेलुका भिडियो कल गरेर कुराकानी गर्ने गरेको बताउनुभयो । तर ३० जुलाई २०२४ पछि ती संवाद अचानक बन्द भए ।

ममताकी आमा गीताले अदालतमा भावुक हुँदै आफूले छोरीसँग दैनिक दुई–तीन पटकसम्म कुराकानी गर्ने गरेको सुनाउनुभयो । छोरीसँग सम्पर्क हुन छाडेपछि उहाँले ज्वाइँ नरेशलाई फोन गर्नुभयो । तर छोरी कहाँ छिन् भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ पाउनुभएन । पछि नरेशले ममता साथीहरूसँग बस्न गएको बताएको आमाको बयान थियो ।

छोरी हराएपछि नेपालबाट अमेरिका पुग्नुभएकी आमाको उद्देश्य एउटै थियो, ‘छोरीलाई खोज्ने र सत्य पत्ता लगाउने ।’ छोरीको अवस्थाबारे जानकारी पाउन र न्याय दिलाउन उहाँले भोग्नुपरेको मानसिक पीडा बयानका क्रममा पनि व्यक्त गर्नुभयो ।अदालतमा बयान दिँदा गीता पटकपटक भावुक हुनुभयो । आँखाबाट झरेका आँसुमा एउटी आमाले छोरीका लागि गरेको प्रतीक्षा, अनिश्चितता र असह्य वेदना प्रस्ट देखिन्थ्यो । छोरीको हत्या भएको निष्कर्षमा पुग्ने घटनाक्रमबीच न्यायको प्रतीक्षा गर्नुपरेको अवस्थाले उहाँलाई कति मर्माहत बनाएको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

एउटी आमाले नौ महिना गर्भमा राखेर जन्माएको सन्तान हुर्काउन कति दुःख गर्नुहुन्छ ! छोरीको विवाह गरिदिएपछि सुखी जीवन बिताएको हेर्ने सपना देख्नुहुन्छ । तर छोरीको वैवाहिक जीवन नै उनको मृत्युको कारण बन्न पुगेको खबर सुन्नुपर्दा त्यो आमाको मनमा कस्तो बज्रपात भयो होला ? यो प्रश्नले मात्रै पनि आङ सिरिङ्ग हुन्छ, मन भारी हुन्छ । ममताकी आमाको अनुहार र अदालतमा झरेका आँसुमा यी सबै प्रश्नको पीडा देखिन्थ्यो ।

ममताकी आमाको आँसु केवल एउटा परिवारको निजी पीडा होइन । यो घरेलु हिंसाबाट पीडित हजारौं महिलाको साझा पीडाको प्रतिनिधित्व गर्ने आँसु हो । घरेलु हिंसालाई महिलाको मात्र समस्या ठानेर पन्छिने गल्ती समाजले अब पनि गर्नु हुँदैन । यो परिवार, समाज र समग्र मानवताको सरोकारको विषय हो ।

अदालतमा बयान दिँदा गीता पटकपटक भावुक हुनुभयो । आँखाबाट झरेका आँसुमा एउटी आमाले छोरीका लागि गरेको प्रतीक्षा, अनिश्चितता र असह्य वेदना प्रस्ट देखिन्थ्यो । छोरीको हत्या भएको निष्कर्षमा पुग्ने घटनाक्रमबीच न्यायको प्रतीक्षा गर्नुपरेको अवस्थाले उहाँलाई कति मर्माहत बनाएको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ

दाजु महेशको पीडादायी बयान : बहिनीको चोट र लुकाउनुपरेको पीडा

अदालतमा ममताका दाजु महेश काफ्लेले दिनुभएको बयानले पनि घटनाको अर्को भयावह पाटो उजागर गर्यो । महेशका अनुसार ममताले आफूलाई लागेको चोटको तस्बिर उहाँलाई पठाएकी थिइन । उक्त तस्बिरमा ममताको आँखानजिक चोट लागेको देखिन्थ्यो । बहिनीले आफूलाई पति नरेशले चोट पुर्याएको र यातना दिएको बताएको दाजु महेशको बयान थियो ।

महेशले अदालतमा बताएअनुसार ममताले उक्त तस्बिर सुरक्षित राखिदिन आग्रह गरेकी थिइन । नरेशले थाहा नपाऊन् भनेर आफ्नै मोबाइलबाट तस्बिर हटाउने कुरा पनि ममताले गरेको नरेशको बयान थियो । सोचौँ त, एउटी विवाहित महिलाले आफ्नै शरीरमा लागेको चोटको तस्बिरसमेत लुकाएर दाजुलाई सुरक्षित राखिदिन अनुरोध गर्नुपर्ने अवस्था कति भयावह र पीडादायी होला ? आफ्नै मोबाइलमा प्रमाण राख्नसमेत डराउनुपर्ने परिस्थितिमा ममताले कस्तो मानसिक तनाव भोग्नुपरेको थियो होला ?

महेशले पहिलोपटक नरेशलाई भेट्दा नै बहिनीलाई उनीसँग विवाह नगर्न सुझाव दिएकोसमेत अदालतमा बताउनुभएको थियो । यी बयानले ममताको वैवाहिक सम्बन्धभित्र लामो समयदेखि समस्या र असुरक्षा रहेको संकेत गरेका छन् । एउटी महिलाले आफ्नै परिवारसँग खुलेर पीडा सुनाउन नसक्ने, आफूलाई लागेको चोटको प्रमाण लुकाउनुपर्ने र जीवनसाथीकै व्यवहारबाट भयभीत हुनुपर्ने अवस्था सिर्जना हुनु आफैँमा गम्भीर सामाजिक समस्या हो ।

तस्बिर र साक्षीले खोलेको चरम घरेलु हिंसाको चित्र

अदालतमा ममताका पुराना तस्बिर र भिडियोसमेत प्रस्तुत गरिए । ती सामग्रीमा उहाँको अनुहारमा चोटपटक लागेको देखिन्थ्यो । ममताकी निकट साथी सरिता न्यौपानेले पनि अदालतमा बयान दिँदै नरेशको व्यवहार नियन्त्रणकारी र हिंसात्मक रहेको बताउनुभयो । उहाँका अनुसार ममता एकपटक रोइरहेको अवस्थामा भेटिनुभएको थियो । त्यसपछि उहाँले ममतालाई आफ्नो घरमा लगेर झन्डै दुई हप्तासम्म आश्रय दिनुभएको थियो ।

साथी सरिताले अदालतमा दिएको बयानअनुसार ममताको अनुहारमा लागेको चोटका कारण छोरीको अन्नप्राशनसमेत सार्नुपरेको थियो । नरेशले घर सफा नगरेको भन्दै ममतामाथि हातपात गरेको जानकारी आफूलाई दिएको उहाँको बयान थियो ।त्यति मात्र होइन, ममताको मोबाइल बन्द गरिदिने, आर्थिक स्वतन्त्रतामा अवरोध गर्ने र गाडी चलाउनसमेत नदिने गरेको विवरण पनि अदालतमा प्रस्तुत भयो । यी विवरणले एउटा गम्भीर प्रश्न उठाउँछन्-घरभित्र हुने हिंसा बाहिरबाट देखिँदैन भन्दैमा त्यसलाई सामान्य मान्न मिल्छ ?’

श्रीमतीलाई नियन्त्रण गर्नु, आर्थिक रूपमा परनिर्भर बनाउनु, परिवार र साथीभाइबाट टाढा राख्नु तथा शारीरिक यातना दिनु प्रेम होइन । त्यो हिंसा हो, मानव अधिकारमाथिको आक्रमण हो । वैवाहिक सम्बन्धको नाममा कसैमाथि यस्तो व्यवहार गर्ने अधिकार कसैलाई पनि छैन ।

ममता एउटा स्वतन्त्र अस्तित्व भएकी महिला हुनुहुन्थ्यो । उहाँका आफ्नै सपना थिए, इच्छा थिए, परिवार थियो, भविष्य थियो । उहाँलाई पनि अरू मानिसजस्तै सम्मानपूर्वक, सुरक्षित र खुसीसाथ बाँच्ने अधिकार थियो । तर उहाँको जीवनमा ती आधारभूत अधिकारसमेत सुरक्षित हुन नसकेको देखिन्छ ।

मानव सभ्यता नै झस्काउने नरेशको बयान : शव टुक्र्याएको स्वीकारोक्ति

यस घटनाको सबैभन्दा स्तब्ध पार्ने पक्ष अदालतमा नरेश भट्ट स्वयंले दिएको बयान हो । आफ्नी पत्नी घर छाडेर गएको भन्दै आएका नरेशले हत्या गरेको आरोप अस्वीकार गर्नुभयो । तर ममता शयनकक्षमा अचेत अवस्थामा फेला परेको र आफूले बचाउन नसकेको बताउनुभयो । उहाँको भनाइमा ममताले आत्महत्या गरेको हुनसक्ने र आफू डर तथा तनावका कारण आत्तिएको भन्ने थियो ।

तर त्यसपछि नरेशले गरेको कामबारे दिएको बयानले अदालतमा उपस्थित व्यक्तिहरूलाई मात्र होइन, यो घटना सुन्ने जोकोहीलाई स्तब्ध बनायो । नरेशले आराको प्रयोग गरेर ममताको शव टुक्र्याएको र ती टुक्राहरू फोहोरका झोलामा राखेर फालेको स्वीकार गर्नुभयो । शवका अवशेष फोहोर फाल्ने स्थानमा पुर्याइएको विवरण पनि अदालतमा आयो ।

आफ्नी श्रीमतीको मृत्यु भएको अवस्थामा प्रहरी वा आपत्कालीन सेवामा खबर गर्नुको सट्टा शव टुक्र्याएर फालिएको आफ्नै बयानले घटनाको क्रूरता कति भयावह थियो भन्ने देखाउँछ ।शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गर्दै पनि नरेशले ममताको हत्या आफूले नगरेको र उहाँको मृत्यु आत्महत्याका कारण भएको दाबी गर्नुभयो ।

तर अभियोजन पक्षले प्रस्तुत गरेका वैज्ञानिक प्रमाण, डीएनए परीक्षण, आरामा भेटिएका अवशेष, फोन रेकर्ड, निगरानी क्यामेराका दृश्य तथा अन्य प्रमाणले उहाँको दाबीलाई चुनौती दिए । अन्ततः जुरीले नरेशको दाबी अस्वीकार गर्दै हत्यासमेतका तीनवटै कसुरमा दोषी ठहर गर्यो ।

एउटी महिलाको मृत्यु भएपछि उनको शरीरको मर्यादासमेत कायम नराखिएको यो घटनाले मानवीय संवेदनाको सीमामाथि गम्भीर प्रश्न उठाएको छ ।

विश्वासको हत्या, मानवताको अपमान

श्रीमान् र श्रीमतीको सम्बन्ध केवल सामाजिक वा कानुनी सम्बन्ध मात्र होइन । यो आपसी विश्वास, सम्मान, माया र जिम्मेवारीमा आधारित सम्बन्ध हो । तर यही सम्बन्धभित्र हिंसा, त्रास र नियन्त्रणले ठाउँ पायो भने घर नै यातनागृह बन्न सक्छ । परिवार नै विखण्डित हुन्छ ।

ममताको घटनाले यही तीतो वास्तविकता उजागर गरेको छ । एउटी योग्य महिला आफ्नो घरभित्रै सुरक्षित हुन सक्नुभएन । आफ्ना पीडा परिवारलाई सुनाउनुपर्यो । शरीरमा लागेको चोटको प्रमाणसमेत गोप्य राख्नुपर्यो । अन्ततः उहाँको जीवन नै समाप्त भयो ।

नरेशले अदालतमा पत्नीको शव आराले टुक्र्याएको स्वीकार गर्नु र त्यसलाई फोहोरमा फालेको बताउनु मानव संवेदनामाथिकै निर्मम प्रहार हो । मानिसको मृत्यु आफैँमा दुःखद हुन्छ । तर जीवनसाथीको मृत्युपछि शवको मर्यादासमेत कायम नराखिएको घटनाले ममताको परिवारले भोगिरहेको पीडालाई झन् गहिरो बनाएको छ ।

ममताको मृत्युले एउटा प्रश्न पनि छाडेको छ—मान्छेले आफूलाई सबैभन्दा बढी विश्वास गर्ने व्यक्तिमाथि नै यति ठूलो हिंसा कसरी गर्न सक्छ? प्रेम र विश्वासको नाममा बनेको सम्बन्धमा यस्तो क्रूरता कसरी जन्मिन्छ ? यी प्रश्नको उत्तर खोज्नु केवल एउटा घटनाको विश्लेषण गर्नु होइन, समाजमा महिलाको सुरक्षा र मानवीय सम्बन्धको मूल्यबारे गम्भीर बहस गर्नु पनि हो ।

न्यायको फैसला आयो, तर अझै भेटिएन ममताको शव

१० नोभेम्बर २०२६ मा भर्जिनियाको जुरीले नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गर्यो । शव लुकाउने र शवको अपमान गर्ने अभियोगमा पनि दोषी ठहर भएको फैसला सुनायो ।

भर्जिनियाको कानुनअनुसार हत्याको कसुरमा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्ने व्यवस्था छ । अन्तिम सजाय निर्धारणका लागि १२ मार्च २०२७ को मिति तोकिएको छ । तर यो फैसलाले एउटा प्रश्न अझै अनुत्तरित छाडेको छ-ममताको शव कहाँ छ ?’

परिवारले आफ्नी छोरीको अन्तिम संस्कार गर्न पाएको छैन । आमाले छोरीको पार्थिव शरीरसमेत देख्न पाउनुभएको छैन । दाजुले बहिनीलाई अन्तिमपटक बिदाइ गर्न पाउनुभएको छैन । परिवारले आफ्नो प्रिय सदस्यको अन्तिम संस्कार गर्ने आधारभूत अवसरसमेत पाएको छैन ।

कस्तो विडम्बना ! जुन बाबुले आफ्नी छोरीलाई आमाको काखमा हुर्किएको, सुरक्षित र सुखी जीवन बिताएको देख्नुपर्ने थियो, त्यही बाबु आमाको हत्यामा दोषी ठहर हुँदा छोरीको जीवनबाट आमाबाबु दुवैको सहज साथ खोसिएको छ

एउटा परिवारका लागि प्रियजनको मृत्यु स्वीकार गर्नु नै कठिन हुन्छ । त्यसमाथि शवसमेत नपाउँदा अन्तिम बिदाइको अवसर नपाउनु कति पीडादायी होला? आमाको मनमा छोरीको अन्तिम अवस्था कस्तो थियो भन्ने प्रश्नले जीवनभर सताउन सक्छ ।न्यायिक फैसलाले दोषीलाई सजायको बाटो खोले पनि परिवारले गुमाएको सन्तान, दिदीबहिनी र आमाको रिक्तता कहिल्यै पूर्ति गर्न सक्दैन ।

न्यायको फैसला आएको छ, तर परिवारको प्रतीक्षा अझै सकिएको छैन । ममताको शव फेला पार्ने प्रयास र परिवारले अन्तिम संस्कार गर्न पाउने अधिकारको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण छ ।

एउटी अबोध छोरीको भविष्य उजाडियो : आमाको काख खोसियो-बाबुको साथ पनि हरायो

नरेश भट्टको अपराधले ममता काफ्ले भट्टको जीवन मात्र समाप्त पारेन, उहाँहरूकी अबोध छोरीको भविष्यसमेत गम्भीर रूपमा प्रभावित बनाएको छ । यो घटनाको सबैभन्दा हृदयविदारक पक्षमध्ये एक हो-आफ्नो जीवनको सुरुवाती चरणमै एउटी बालिकाले आमाको माया, ममतामयी काख र बाबुको सहज संरक्षण गुमाउनुपर्ने अवस्था आउनु ।’

जुन उमेरमा बालबालिकाले आमाको काखमा लुटपुटिँदै संसार चिन्न सिक्छन्, बाबुको औँला समातेर हिँड्न सिक्छन्, आमाबाबुको मायामा रमाउँदै आफ्नो बाल्यकाल बिताउँछन्, त्यही उमेरमा ममताकी छोरीले जीवनकै सबैभन्दा ठूलो अभाव बेहोर्नुपर्ने भएको छ । ती अबोध बालिकाले अब आमालाई बोलाएर काखमा बस्न पाउने छैनन । बिरामी पर्दा आमाको हातबाट औषधि खान पाउने छैन । डर लाग्दा आमाको छातीमा टाँसिएर सुरक्षित महसुस गर्न पनि पाउन छैनन ।

त्यति मात्र होइन, बाबुको साथ र संरक्षण पनि उहाँका लागि अनिश्चित र जटिल बनेको छ । आफ्नै बाबु आमाको हत्यामा दोषी ठहर भएपछि ती अबोध बालिकाको मनोवैज्ञानिक, सामाजिक र पारिवारिक भविष्य कस्तो होला भन्ने प्रश्नले जोकोहीको मन भारी बनाउँछ । एउटा अपराधको सजाय अपराधीले मात्र भोग्दैनन्, कहिलेकाहीँ त्यसको सबैभन्दा ठूलो मूल्य निर्दोष सन्तानले चुकाउनुपर्छ । ममताकी छोरीको अवस्था त्यसैको अत्यन्त पीडादायी उदाहरण बनेको छ ।

भोलि उहाँ हुर्किंदै जानेछिन । साथीहरूले आफ्नी आमाको कुरा गर्दा उनले आफ्नी आमालाई सम्झनेछिन । विद्यालयमा अभिभावक दिवस आउँदा मनमा अनेक प्रश्न उठ्न सक्छन् । आफ्नो जन्मदिनमा आमाको अभाव झन् गहिरो हुन सक्छ । जीवनका महत्त्वपूर्ण मोडमा आमाबाबुको साथ खोज्दा पनि विगतको यही घटनाले उनलाई सताउन सक्छ ।

ममता मारिँदा छोरी केवल ११ महिनाकी थिइन । उनले कुनै अपराध गरेकी थिइनन । कसैको जीवन खोसेकी थिइनन । कसैलाई यातना दिएको पनि थिइनन, उनी त अबोध काखे शिसु थिइन । तर वयस्कको हिंसा र अपराधको परिणामस्वरूप उनले आफ्नो बाल्यकालमै सबैभन्दा प्रिय दुई सम्बन्धको सहज साथ गुमाउनुपर्ने अवस्था आएको छ । नरेश भट्टको अपराधले ममताको परिवारमा मात्र होइन, आफ्नै सन्तानको जीवनमा समेत कहिल्यै नमेटिने घाउ छाडेको छ ।

एउटी आमाको हत्या गरेर एउटा जीवन समाप्त पारियो, तर त्यसको असर अर्को निर्दोष जीवनभर रहने सम्भावना छ । ममताकी छोरीलाई अब विशेष माया, सुरक्षा, शिक्षा, उचित संरक्षण र मनोवैज्ञानिक सहयोगको खाँचो छ । उनको भविष्यलाई अतीतको पीडाले मात्र परिभाषित गर्न नदिन परिवार, समाज र सम्बन्धित निकाय सबैको जिम्मेवारी छ ।

कस्तो विडम्बना ! जुन बाबुले आफ्नी छोरीलाई आमाको काखमा हुर्किएको, सुरक्षित र सुखी जीवन बिताएको देख्नुपर्ने थियो, त्यही बाबु आमाको हत्यामा दोषी ठहर हुँदा छोरीको जीवनबाट आमाबाबु दुवैको सहज साथ खोसिएको छ ।

अझ दुःखको कुरा, भोलि ती बालिकाले आफ्नो जीवनको सबैभन्दा संवेदनशील प्रश्नको उत्तर आफैँ खोज्नुपर्नेछ-आफ्नी आमालाई के भयो ? उहाँ किन फर्केर आउनुभएन ? आफ्नो बाल्यकाल किन अरू बालबालिकाको जस्तो भएन ?’ यी प्रश्नको उत्तर दिन सजिलो हुनेछैन । त्यसैले उनको बालमनोविज्ञान, गोपनीयता र आत्मसम्मानको रक्षा गर्नु अहिले सबैभन्दा महत्त्वपूर्ण मानवीय दायित्व हो ।

भ्यूज र लाइकको लोभमा ती अबोध बालिकाको तस्बिर, पहिचान, निजी जीवन र पीडालाई सामग्री बनाउने काम कसैले नगरौँ । सामाजिक सञ्जालमा लोकप्रियता कमाउने नाममा एउटा निर्दोष बालिकाको जीवनभर रहने घाउलाई बारम्बार कोट्याउनु अमानवीय कार्य हुनेछ । उनलाई सार्वजनिक जिज्ञासाको विषय होइन, माया र संरक्षणको हकदार बालिकाका रूपमा हेरौं ।

नरेश भट्टजस्तो श्रीमान् कसैको नपरोस्

ममता काफ्ले भट्टको घटनाले नेपाली समाजलाई एउटा गम्भीर सन्देश दिएको छ । त्यो हो—विवाहपछि छोरीको घर बिग्रेला भनेर हिंसा सहन सिकाउनु हुँदैन । श्रीमान्को रिस, शंका, नियन्त्रण र कुटपिटलाई पारिवारिक सामान्य समस्या भनेर बेवास्ता गर्नु हुँदैन ।

छोरीको शरीरमा चोट देखिँदा, व्यवहारमा डर देखिँदा र बोलीमा पीडा सुनिँदा परिवारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । पीडित महिलालाई नै दोष लगाउने होइन, उहाँलाई सुरक्षा, साथ र न्याय दिलाउने प्रयास गर्नुपर्छ ।

कहिलेकाहीँ परिवारको इज्जत, समाजको डर र सम्बन्ध विच्छेदको चिन्ताले महिलालाई हिंसा सहेर बस्न बाध्य पारिन्छ । तर हिंसा सहनु कुनै महिलाको कर्तव्य होइन । विवाह जोगाउने नाममा छोरीको जीवन नै जोखिममा पार्नु हुँदैन । छोरीको खुसीभन्दा ठूलो परिवारको प्रतिष्ठा हुन सक्दैन ।

नरेश भट्टको घटनाले श्रीमान् भन्ने नाताले कसैलाई श्रीमतीमाथि स्वामित्व जमाउने अधिकार नदिने कुरा फेरि सम्झाएको छ । श्रीमती कुनै वस्तु होइनन् । उहाँ पनि सपना देख्ने, सम्मानपूर्वक बाँच्न चाहने र स्वतन्त्र अस्तित्व भएकी मानव हुनुहुन्छ ।

ममता आज हामीमाझ हुनुहुन्न । उहाँको शवसमेत परिवारले पाउन सकेको छैन । तर उहाँले भोग्नुपरेको पीडा र उहाँका पक्षमा अदालतमा सुनिएका आवाजहरू इतिहासमा गुञ्जिरहनेछन् ।

एउटी आमाले छोरी गुमाउनुभयो । एउटा दाजुले बहिनी गुमाउनुभयो । एउटा परिवारले आफ्नो प्रिय सदस्य गुमायो । एउटी सानी छोरीले आमाको माया गुमाउनुपर्यो र बाबुको सहज साथबाट समेत वञ्चित हुनुपर्ने अवस्था आयो ।

नरेश भट्टजस्तो राक्षसी व्यवहार गर्ने श्रीमान् कसैको नपरोस् । कुनै पनि छोरीले विवाहपछि आफ्नो घरलाई यातनागृहका रूपमा भोग्न नपरोस् । कुनै पनि आमाले आफ्नी छोरीको न्यायका लागि परदेशको अदालतमा आँसु झार्न नपरोस् । कुनै पनि अबोध बालिकाले आमाबाबुको अपराध र हिंसाको मूल्य आफ्नो बाल्यकाल र भविष्यबाट चुकाउन नपरोस् ।

ममता काफ्ले भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली । उहाँको परिवारलाई यो असह्य पीडा सहने शक्ति मिलोस् । उहाँकी छोरीको भविष्य सुरक्षित, उज्यालो र सम्मानपूर्ण बनोस् । ममताले भोग्नुपरेको पीडाले घरेलु हिंसाविरुद्ध समाजलाई जागरुक बनाओस् ।

यो घटना केवल एउटी नेपाली चेलीको हत्या प्रकरणमा सीमित नरहोस् । यो घरेलु हिंसाविरुद्धको सामाजिक जागरण, महिलाको सम्मानपूर्ण जीवनको अधिकार र बालबालिकाको सुरक्षित भविष्यका लागि एउटा गम्भीर चेतावनी बनोस् ।