जनता टाइम्स

२६ कार्तिक २०८३, बिहिबार १८:२४

एनपीएल : विराटनगरसँग हार्दा पोखरा प्लेअफबाट बाहिरियो


काठमाडौं, कात्तिक २६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएपछि पोखरा एभेन्जर्स प्लेअफ दौडबाट बाहिरिएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखराले दिएको १३३ रनको लक्ष्य १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरको जितमा कप्तान सन्दीप लामिछानेले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा विराटनगरका कप्तान लामिछानेको घातक बलिङसामु २० ओभरमा १३२ रनमा समेटिएको थियो । पोखराका ओपनर युवराज साम्राले ८४ रनको उत्कृष्ट पारी खेले पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा टोलीले प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेन ।

१३३ रनको लक्ष्य पछ्याएको विराटनगरले अन्तिम समयमा संयमित ब्याटिङ गर्दै जित निकालेको हो । विराटनगरका ब्याटरहरूले दबाबपूर्ण अवस्थामा विकेट जोगाउँदै टोलीलाई महत्वपूर्ण दुई अंक दिलाए ।

यस जितसँगै विराटनगर अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ । सन्दीपको ह्याट्रिकसहितको बलिङ प्रदर्शन विराटनगरको जितमा निर्णायक बन्यो ।

 लगातारको हारपछि पोखराको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ । ६ खेलबाट मात्र दुई अंक जोडेको पोखराले यसअघि पाँच खेलमध्ये एक खेलमा मात्रै जित निकालेको थियो । पछिल्लो खेलमा कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै लयमा फर्किएको पोखरा विराटनगरसँग भने पराजित हुन पुग्यो ।

पोखराले प्रतियोगितामा अब एक खेल खेल्न बाँकी छ । उसले अन्तिम खेलमा काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको नतिजाले प्लेअफ समीकरणमा पोखरालाई कुनै प्रभाव पार्ने छैन ।