जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार ०८:३०

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं  र सुदूरपश्चिम तथा जनकपुर र चितवन भिड्दै


काठमाडौं, कात्तिक २७ । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

आज दिउँसो १२ बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । समान आठ–आठ अङ्क जोड्दै अङ्कतालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धालाई शीर्ष चारमा स्थान सुरक्षित गर्ने दृष्टिले महत्त्वपूर्ण मानिएको छ । आजको खेल जित्ने टोलीले प्लेअफमा आफ्नो स्थान पक्का गर्नेछ ।

त्यस्तै, आजै साँझ ५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ । प्लेअफको सम्भावना जीवित राख्न दुवै टोलीलाई जित्नैपर्ने दबाब छ ।

पाँच खेलबाट पाँच अङ्क जोडेको चितवनलाई प्लेअफको दौडमा कायम रहन बाँकी दुवै खेल जित्नुपर्ने अवस्था छ । दुई खेल बाँकी रहेकाले चितवनका लागि अबको प्रत्येक खेल निर्णायक बनेको छ ।

यता पाँच खेलबाट चार अङ्क मात्र जोडेको जनकपुरका लागि आजको खेल अन्तिम हुनेछ । आजको खेल जितेमा जनकपुरको अङ्क ६ पुग्नेछ । तर, त्यतिले मात्र प्लेअफमा पुग्ने सुनिश्चित नहुने भएकाले जनकपुरले अन्य टोलीको नतिजासमेत अनुकूल आउनुपर्नेछ ।

लिग चरणका खेल निर्णायक चरणमा प्रवेश गरेसँगै प्लेअफमा पुग्ने टोलीको टुङ्गो लगाउन आजका दुवै खेल महत्त्वपूर्ण हुनेछन् ।  यस अघि हिजो भएकाे खेलमा कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुगिसकेकाे छ ।