जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार ०८:२१

धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक छठ पर्व सुरु


काठमाडौं, कात्तिक २७ । दीपावली पर्व सकिएसँगै मिथिलाञ्चलसहित तराई–मधेसका विभिन्न क्षेत्रमा सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने महान् पर्व छठ सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । पर्वको तयारीमा स्थानीयवासी जुटेसँगै मिथिलाको वातावरण छठमय बनेको छ ।

धार्मिक आस्था, निष्ठा, पवित्रता र भक्तिको अनुपम सङ्गम मानिने छठ पर्व सूर्यदेवप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसरका रूपमा मनाइन्छ । प्रकृतिको प्रत्यक्ष देवताका रूपमा पुजिने सूर्यबाट समस्त प्राणीले जीवन, ऊर्जा र प्रकाश प्राप्त गर्ने धार्मिक विश्वासका आधारमा यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ । सूर्यदेवसँगै षष्ठीदेवी अर्थात् छठीमाताको पूजा आराधना गरी परिवारको सुख, शान्ति, सुस्वास्थ्य, सन्तानको दीर्घायु र समृद्धिको कामना गरिन्छ ।

छठको धार्मिक तथा ऐतिहासिक महत्त्व प्राचीन सूर्योपासनासँग जोडिएको मानिन्छ । वैदिक परम्परामा सूर्यलाई जीवन र ऊर्जाको स्रोतका रूपमा आराधना गरिँदै आएको छ । हिन्दु धार्मिक मान्यताअनुसार सूर्यदेवको उपासनाले आरोग्य, तेज, समृद्धि र कल्याण प्राप्त हुने विश्वास छ । छठ पर्वमा प्रकृतिले उपलब्ध गराएका फलफूल, कृषि उपज र जललाई पूजामा समावेश गरिनुले मानिस र प्रकृतिबीचको गहिरो सम्बन्धलाई समेत उजागर गर्छ ।

छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका पारम्परिक गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र छठीमाताको महिमा गाइने भक्तिगीतले गाउँबस्तीमा धार्मिक उल्लास थपेको छ । पर्वका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवाहरू छठघाट निर्माण, सजावट र व्यवस्थापनमा सक्रिय देखिएका छन् ।

बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् । छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ । 

मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री खरिद गर्नेको भीड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् ।  

यसैगरी छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ । बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजासम्बन्धी सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बजार पनि बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो ।

छठ पर्वले धार्मिक महत्त्वसँगै स्थानीय अर्थतन्त्र र परम्परागत सीपको संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको छ । बाँसका सामग्री बनाउने कारीगर, माटाका भाँडा तयार गर्ने कुमाल समुदाय, किसान, फलफूल व्यापारी तथा साना व्यवसायीका लागि छठ आम्दानीको महत्त्वपूर्ण अवसरसमेत बन्ने गरेको छ । स्थानीय उत्पादन र हस्तकलाका सामग्रीलाई प्राथमिकता दिने परम्पराले पुस्तौँदेखि चल्दै आएका पेसा र सीपलाई निरन्तरता दिन सहयोग पुर्‍याएको छ ।

घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि बढेको छ । ठकुवा र भुसुवासहितका परम्परागत प्रसाद बनाउन गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ । मिथिलानी अर्थात् मिथिलाका महिलाहरू छठका लागि चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन् । 

मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । यस दिन व्रतालुले स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन ‘खरना’ विधि गरिन्छ । यस दिन दिनभर उपवास बसेर साँझ दूध, चामल र सख्खरबाट तयार पारिएको खीरलगायत प्रसाद ग्रहण गरिन्छ । त्यसपछि व्रतालुले निर्जला उपवास सुरु गर्छन् ।

पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुले अस्ताउँदो सूर्यलाई नदी, पोखरी तथा जलाशयमा उभिएर अर्घ्य अर्पण गर्छन् । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ । यसरी अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिनुले जीवनका हरेक अवस्था र प्रकृतिको निरन्तरताप्रति सम्मान प्रकट गर्ने सांस्कृतिक सन्देश दिएको मानिन्छ ।

सामाजिक दृष्टिले छठ पर्व आपसी सद्भाव, समानता, सहकार्य र सामुदायिक एकताको उदाहरणका रूपमा स्थापित छ । छठघाटमा जातीय, वर्गीय तथा सामुदायिक विभेदलाई बिर्सेर सबै एकै ठाउँमा भेला हुने र एकअर्कालाई सहयोग गर्ने परम्परा छ । व्रतालुका लागि घाट निर्माणदेखि सरसफाइ, सजावट र पूजाका सामग्री व्यवस्थापनसम्म स्थानीयवासी सामूहिक रूपमा सहभागी हुन्छन् । यसले समाजमा सहअस्तित्व, परस्पर सम्मान र सहयोगको भावना बलियो बनाउने गरेको छ ।

छठ पर्वमा पुराना मनमुटाव बिर्सेर परिवार, आफन्त, छरछिमेक र समुदायका मानिस एकै ठाउँमा भेला हुन्छन् । आफ्नो घरमा व्रत नबसेका व्यक्तिले समेत व्रतालुलाई सहयोग गर्ने, प्रसाद ग्रहण गर्ने र घाट व्यवस्थापनमा सघाउने परम्परा छ । धार्मिक आस्थाले मानिसलाई विनम्र, अनुशासित र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ ।

सांस्कृतिक रूपमा छठ मिथिला सभ्यता र पहिचानको महत्त्वपूर्ण आधारसमेत हो । छठका लोकगीत, पारम्परिक पोसाक, बाँसका सामग्री, माटाका भाँडा, स्थानीय कृषि उपज र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका पूजा विधिले मिथिलाको मौलिक संस्कृति जीवन्त राखेका छन् । विशेषगरी महिलाको सक्रिय सहभागिता, लोकगीतको परम्परा र पारिवारिक सहकार्यले यस पर्वलाई पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदाका रूपमा स्थापित गरेको छ ।

छठ पर्वले धार्मिक आस्था र व्यक्तिगत विश्वासलाई मात्र नभई प्रकृति संरक्षणको सन्देशसमेत प्रवाह गर्छ । नदी, पोखरी र जलाशयलाई पूजास्थलका रूपमा सम्मान गर्ने परम्पराले जलस्रोतको महत्त्व स्मरण गराउँछ । फलफूल, उखु, अदुवा, बेसारलगायत स्थानीय कृषि उपजलाई पूजामा प्रयोग गरिनुले कृषि, किसान र प्रकृतिप्रतिको सम्मानलाई पनि अभिव्यक्त गर्छ ।

यसरी छठ पर्व धार्मिक श्रद्धा, ऐतिहासिक परम्परा, सामाजिक समानता र सांस्कृतिक पहिचानको साझा उत्सवका रूपमा मनाइँदै आएको छ । सूर्यदेव र षष्ठीदेवीको उपासनाबाट परिवार तथा समाजको मङ्गल र कल्याण हुने जनविश्वाससँगै आपसी सद्भाव, एकता र प्रकृतिप्रतिको सम्मानलाई जीवन्त बनाउनु नै छठ पर्वको विशिष्ट महत्त्वका रूपमा रहेको छ ।