काठमाडौं, कात्तिक २६ । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । अर्धशतक बनाउन चार रनले चुकेका सर्टले सुरुवाती विकेट पतनका बीच एक छेउबाट इनिङ्स सम्हालेका थिए ।
१९ रनमै तीन विकेट गुमाएको लुम्बिनीका लागि सर्ट र निरोशन डिक्वेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे । डिक्वेलाले १३ बलमा दुई चौकासहित १६ रन बनाए ।
त्यसपछि सर्टले दिलिप नाथसँग मिलेर टोलीलाई जितको नजिक पुर्याए । दिलिपले अविजित २८ रन बनाए । २७ बल खेलेका उनले चार चौका प्रहार गरे । शमिम हुसेन पाँच रनमा आउट भए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । चार ओभरमा एक मेडन राखेका उनले मात्र १२ रन खर्चिए । पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्स १९.२ ओभरमा १०५ रनमा समेटिएको थियो । कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे । हुसेन तलतले २४, गुल्सन झाले १३ तथा पवन सर्राफले १२ रन जोडे ।
१५ रनमै चार विकेट गुमाएर संकटमा परेको कर्णालीका लागि पवन सर्राफ र सोमपाल कामीले पाँचौँ विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर, त्यसपछि नियमित विकेट गुमाउँदा कर्णाली ठूलो योगफल बनाउन असफल भयो ।
लुम्बिनीका अभिषेक गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । रुबेन ट्रम्पेलमन र शेर मल्लले एक–एक विकेट हात पारे ।
यस जितसँगै ६ खेलबाट ९ अङ्क जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोलीले ४ खेलमा जित, १ खेलमा हार र १ खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । लुम्बिनीले लिग चरणको अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
यता, प्रतियोगिताको सुरुवाती २ खेल जित्दै राम्रो सुरुवात गरेको कर्णाली याक्स लगातार ४ खेलमा पराजित भएको छ । ६ खेलबाट ४ अङ्कसहित सातौँ स्थानमा रहेको कर्णालीको प्लेअफ सम्भावना कठिन बनेको छ । अब उसको प्लेअफ यात्रा चितवन राइनोजसँगको अन्तिम खेलको नतिजामा निर्भर रहनेछ ।














प्रतिक्रिया दिनुहोस्