काठमाडौं, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मधेश प्रदेश ०३–००१ ज ००८ नम्बरको हाइस बिहीबार बिहान ५ः५५ बजे सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको थियो । काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही घर फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा सुन्दरपुरकी निर्मला देवीको परिवारका ६ जना सदस्यको मृत्यु भएको छ । श्रीमान् राम सुनर रायको आठ वर्षअघि निधन भएपछि जेठा छोरा अवधेश यादवले काठमाडौँको जडीबुटी क्षेत्रमा तरकारी व्यापार गर्दै परिवारको पालनपोषण गर्दै आउनुभएको थियो ।
छठ मनाउन अवधेशले बुधबार राति श्रीमती पुनम यादव, १० वर्षीया छोरी अनु यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, १६ महिने छोरा कात्तिक यादव तथा भाइहरू २५ वर्षीय विकेश यादव र १६ वर्षीय सुधेश यादवलाई घर पठाउनुभएको थियो । दुर्घटनामा श्रीमती, तीन छोरी र दुई भाइको मृत्यु भएको छ भने १६ महिने छोरा कात्तिक घाइते भएका छन् । अवधेश भने काठमाडौँमै रहेकाले सुरक्षित हुनुहुन्छ । पुनम आठ महिनाकी गर्भवती हुनुहुन्थ्यो ।
त्यस्तै, सुन्दरपुरका निरशु यादवका ४० वर्षीय छोरा राकेश राय र १४ वर्षीय नाति रोहन रायको पनि दुर्घटनामा मृत्यु भएको छ । राकेशकी श्रीमती दुई नातिनी र एक नातिसहित दुई दिनअघि नै गाउँ पुगिसकेकाले उनीहरू सुरक्षित छन् ।
यसैगरी निरशु रायका भाइ चन्देश्वर रायका २५ वर्षीय छोरा सुवोध रायको पनि दुर्घटनामा मृत्यु भएको छ ।
सुन्दरपुरकै निरस रायका २५ वर्षीय छोरा रामदुलार रायको दुर्घटनामा मृत्यु भएको छ भने ३० वर्षीय अर्का छोरा देवेन्द्र राय घाइते भएका छन् । निरसका जेठा छोराको केही वर्षअघि रोजगारीका क्रममा भारतको मुम्बईमा निधन भएको थियो । उहाँले अहिले अर्को छोरा पनि दुर्घटनामा गुमाउनुपरेको छ।
त्यस्तै, अमिरी रायका दुई वर्षीय छोरा राम प्रवेश यादवको पनि दुर्घटनामा मृत्यु भएको छ । प्रमोद यादवका २६ वर्षीय छोरा गुड्डु यादव र २४ वर्षीया बुहारी गायत्री देवीको समेत मृत्यु भएको छ । उनीहरूका पाँच वर्षीय छोरा सक्षम यादव र तीन वर्षीय छोरा सुजन यादव दुर्घटनामा घाइते भएका छन् ।
दुर्घटनामा सुन्दरपुरका बासदेव रायका ३३ वर्षीय छोरा मुकेश यादव पनि घाइते भएका छन् । हाइसका चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डलको पनि मृत्यु भएको छ ।
दुर्घटनामा गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर शाेकमा डुबेकाे छ । छठ पर्व मनाउन काठमाडौँबाट घर फर्किंदै गरेका सुन्दरपुरका बासिन्दा दुर्घटनामा परेपछि गाउँमा पर्वको तयारी प्रभावित भएको छ ।














प्रतिक्रिया दिनुहोस्