जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार ०८:५८

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, चार घाइते


काठमाडौं, कात्तिक २७ । कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दुर्घटनामा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशिला बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ ७ बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालकसहित तीन जना र स्कुटरमा सवार दुई जना गरी पाँच जना घाइते भएका थिए । घाइते सबैलाई उद्धार गरी उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो ।

निसर्ग अस्पतालमा उपचार सम्भव नभएपछि गम्भीर घाइते बमलाई शुक्रबार बिहान २ः२६ बजे थप उपचारका लागि मायामेट्रो अस्पताल रेफर गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव मायामेट्रो अस्पतालमा राखिएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।