काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाइएको विषयलाई लिएर सरकारको नैतिकता र जबाफदेहितामाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।
शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री पौडेलले प्रधानमन्त्रीका सल्लाहकारले आफूलाई दोष लाग्न सक्ने सन्देश मेटाएर अरूमाथि आरोप लगाउने प्रयास गरेकाे बताउनुभयाे । विगतमा कुनै प्रधानमन्त्रीका सल्लाहकारले यस्तो गतिविधि गरेको भए पदमा रहन नसक्ने वा राजीनामा दिनुपर्ने अवस्था आउने उहाँको भनाइ थियो ।
सरकारले दुई तिहाइको जनमत प्राप्त गर्दैमा आफूले गरेका सबै निर्णयमाथि प्रश्न उठाउन नपाइने मानसिकता राख्न नहुने उहाँले बताउनुभयो । “दुई तिहाइको जनमत प्राप्त गर्दैमा सरकारले जे गरे पनि स्वीकार गर्नुपर्छ र सरकारमाथि प्रश्न उठाउन पाइँदैन भन्ने हुँदैन”, महामन्त्री पौडेलले भन्नुभयो ।
उहाँले सरकार राजनीतिक प्रतिशोध साँध्नुभन्दा सुशासन कायम गर्ने र भ्रष्टाचारमा संलग्नलाई कानूनी दायरामा ल्याउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । “अन्य दलविरुद्ध प्रतिशोध साँध्नेभन्दा सुशासन कायम गर्ने, विचौलियाको चलखेल अन्त्य गर्ने र भ्रष्टाचारमा संलग्नलाई कानूनी दायरामा ल्याउने काम सरकारले गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
कांग्रेस आफ्ना नेता तथा पार्टीको सम्पत्तिसमेत छानबिन गर्न तयार रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई कारबाही गर्ने प्रयास स्वीकार्य नहुने बताउनुभयो । “नेपाली कांग्रेस आफ्नो सम्पत्तिसमेत छानबिन गर्न तयार छ । गैरकानूनी काम गर्नेलाई कारबाही गर्न सहयोग गर्ने पक्षमा छौँ, तर राजनीतिक पूर्वाग्रह राखेर पार्टी वा नेतृत्वलाई कमजोर बनाउने प्रयास स्वीकार्य हुँदैन”, उहाँले स्पष्ट पार्नुभयो ।
रास्वपा नेतृत्वको सरकारले अन्य राजनीतिक दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजेको बताउँदै उहाँले कांग्रेसभित्र नेतृत्व चयन र गुटगत राजनीतिमा प्रभाव पार्ने प्रयास लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गर्नुभयो ।
सरकारले आफू र आफ्ना जिम्मेवार पदाधिकारीमाथि उठेका प्रश्नको जवाफ दिनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले विधिको शासन, कानूनी प्रक्रिया र न्यायिक मर्यादाको पालना सबैले गर्नुपर्ने बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्